News Desk
काठमाडौँ | नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वान पक्षले पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनको तयारी तीव्र बनाएको जनाएको छ। सो अवसरमा महाधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिइएको हो।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षधर नेता तथा कार्यकर्ताले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरिएको बताएका छन्। उपसमितिहरूको माध्यमबाट विशेष महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरिएको उनीहरूको भनाइ छ।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ गतेदेखि सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसअघि पुस २६ गतेका लागि तय गरिएको नियमित महाधिवेशन क्रियाशील सदस्यता नवीकरणको कारण देखाउँदै वैशाखमा सारिएको थियो।
नियमित महाधिवेशन सारिएपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन विधानअनुसारको बाध्यकारी व्यवस्था भएको दाबी गर्दै त्यसको तयारी अघि बढाएका हुन्। सोही क्रममा आज महामन्त्री थापाले कांग्रेसनिकट बुद्धिजीवीहरूसँग विशेष महाधिवेशनबारे छुट्टै छलफलसमेत गर्नुभएको छ।
यसअघि कांग्रेसका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्।
विशेष महाधिवेशनको विषय अहिले कांग्रेसभित्र निकै संवेदनशील र जटिल बन्दै गएको छ। केही नेता तथा कार्यकर्तामा यसले पार्टी विभाजनतर्फ लैजान सक्छ भन्ने चिन्ता देखिए पनि विशेष महाधिवेशन पक्षधरहरू भने यस प्रक्रियाले पार्टीलाई अझ सुदृढ र लोकतान्त्रिक बनाउने दाबी गरिरहेका छन्।
