News Desk
काठमाडौं : नेपाली कांग्रेसले पुस २७ र २८ गतेका लागि घोषणा गरिएको विशेष महाधिवेशन तत्काल रोक्न औपचारिक अपिल गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको ठहर गर्दै उक्त कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो।
बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण नेता–कार्यकर्तालाई तोकिएको मितिमा हुने विशेष महाधिवेशनमा सहभागी नहुन अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार पार्टी विधानले पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नदिएकाले उक्त कार्यक्रम रोक्न अपिल गरिएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वर्तमान अवस्थामा पार्टी एकतालाई प्राथमिकता दिँदै नियमित महाधिवेशनलाई सफल बनाउनु सबैको साझा दायित्व भएको बैठकको निष्कर्ष सुनाउनुभयो। उहाँले नियमित महाधिवेशनमार्फत सबै तहको नेतृत्व चयन अनिवार्य भए पनि हतारोमा गरिने निर्णयले पार्टी एकतामा नकारात्मक असर पार्न सक्ने भएकाले विशेष महाधिवेशनको नाममा बोलाइएको भेला तत्काल रोक्न आग्रह गरिएको स्पष्ट पार्नुभयो।
पौडेलका अनुसार पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन आह्वान गर्ने अधिकार व्यक्तिगत रूपमा कसैलाई नभई केन्द्रीय समितिलाई मात्र छ। व्यक्तिगत पहलमा आयोजना गरिने यस्ता गतिविधि विधानविपरीत हुने भएकाले त्यस्ता कार्यक्रममा संलग्न नहुन सबैलाई अपिल गरिएको छ।
बैठकले निर्वाचनपछिको नियमित महाधिवेशनमा सुधारका सबै एजेन्डा खुला छलफलमा ल्याउन सकिने, लोकतन्त्र सुदृढ गर्दै आर्थिक समृद्धिको मार्गमा देशलाई अघि बढाउने वैचारिक धारणा जनतामाझ प्रस्तुत गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। साथै, पुस १८ गतेको कार्यसम्पादन समिति बैठकले १५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधन गरेको जानकारी पनि दिइयो।
कांग्रेस बैठकले विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई क्षति पुग्न सक्ने र मुलुक अस्थिरतातर्फ जान सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर आमनिर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ। बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले धारणा राखेका थिए।
नीति र नेतृत्व परिवर्तन अपरिहार्य : गगन थापा
कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी रूपान्तरणका लागि नीति र नेतृत्व दुवैमा परिवर्तन आवश्यक रहेको बताएका छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि उनले केन्द्रीय कार्यसमितिबाटै विशेष महाधिवेशन आह्वान हुने अपेक्षासहित महाधिवेशन प्रतिनिधि बोलाइएको स्पष्ट पारे।
थापाले विशेष महाधिवेशनले पार्टीलाई कुनै क्षति नपुर्याउने दाबी गर्दै विभाजनको बहस नगर्न आग्रह गरे। पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको निर्देशनअनुसार विशेष महाधिवेशनको पहल भएको उनको भनाइ थियो। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरिएको पनि बताए।
देउवा–कोइराला छलफल
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच परामर्श भएको छ। कोइरालाले विशेष महाधिवेशनको विषयमा निर्णय लिन र यसका पक्षधरहरूसँग संवादमार्फत निकास निकाल्न सभापति देउवालाई आग्रह गरेका छन्।
कोइरालाको सचिवालयका अनुसार उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्र देखिएका समस्या केन्द्रित छलफल भएको थियो। उक्त छलफलमा सभापति देउवाले सबै पक्षसँग संवाद गरेर समाधान खोज्न आफू तयार रहेको स्पष्ट पारेका छन्।