विशेष महाधिवेशनबाट महामन्त्रीद्वयको प्रतिवेदन पारित
News Desk
Jan-14 तारिख 06:21 बिहान

काठमाडौँ | नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ। बन्दसत्रमा पेश गरिएका दुवै प्रतिवेदन आज सर्वसम्मत रूपमा अनुमोदन भएसँगै आजका लागि बन्दसत्र सम्पन्न भएको छ। पार्टीले भोलिदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने जनाएको छ।

प्रतिवेदन पारितपश्चात बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आयोजना आफैंमा विद्रोहको प्रतीक भएको बताउनुभयो। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै उहाँले पार्टीभित्र प्रश्न उठाउनु नै परिवर्तनको आधार भएको जिकिर गर्नुभयो।

“यो विद्रोह हो। प्रश्न गर्नु आफैंमा विद्रोह हो। मौन बस्नु भनेको मृत्युलाई अँगाल्नुजस्तै हो,” थापाले भन्नुभयो। उहाँले पदको लालसाका कारण विशेष महाधिवेशन आयोजना नगरिएको स्पष्ट पार्दै आफूहरू कुनै पद प्राप्त गर्न आतुर नभएको पनि बताउनुभयो।

कांग्रेसभित्र गुट र गिरोह झनै मजबुत बन्दै गएको भन्दै त्यसलाई तोडेर पार्टी परिवर्तन गर्न आवश्यक रहेको थापाको भनाइ थियो। उहाँले पार्टीको समानता, देशको हित र गाउँमा बसेका आम नागरिकका लागि अहिले परिवर्तन अपरिहार्य भएको उल्लेख गर्नुभयो।

विशेष महाधिवेशनबारे बाहिर फैलाइएका हल्लाप्रति संकेत गर्दै थापाले टिकट वा भागबण्डाको विषयमा भइरहेको चर्चा निराधार रहेको बताउनुभयो। “बाहिर अनेक हल्ला चलाइएका छन्, तर हामी हलबाट पारित निर्णयलाई मात्रै मान्छौँ। विशेष महाधिवेशनबाट विश्वप्रकाश र गगनलाई सभापति चाहिएको होइन, नीति र नेतृत्वमा परिवर्तन चाहिएको हो,” उहाँले स्पष्ट गर्नुभयो।

अन्त्यमा थापाले विशेष महाधिवेशनलाई उपलब्धिपूर्ण ढंगले निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिँदै, हाउसले आफ्नो अधिकार सुनिश्चित गर्दै पार्टीलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।