पूर्वसभापति देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने
News Desk
Jan-20 तारिख 06:25 बिहान

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका छन्।

डडेल्धुराबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका देउवा यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने भएका हुन्।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले अब सक्रिय निर्वाचन राजनीतिबाट अलग रहने घोषणा गरेका छन्। “उहाँले प्रतिनिधिसभाको चुनाव नलड्ने स्पष्ट निर्णय गर्नुभएको छ,” भानुले बताए।

देउवा २०७२ र २०७८ सालमा लगातार नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। जेन–जी आन्दोलनपछि उनी पार्टी गतिविधिमा निष्क्रिय बन्दै गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पिएको थियो।

महाधिवेशनसम्बन्धी विवाद चलिरहेकै बेला २७ पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भए।

हाल सभापति थापाको नेतृत्वमा पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारहरूको टुंगो लगाउने प्रक्रिया अघि बढाइरहेको छ।

धेरै पढिएको