News Desk
संसदीय राजनीतिमा प्रभावशाली मानिएका नेपाली कांग्रेसका करिब तीन दर्जन नेताहरू आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मैदानमा नदेखिने भएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवादेखि २०७९ सालमा कांग्रेसबाट निर्वाचित एक्ली महिला सांसद सीता गुरुङसम्म यसपटक उम्मेदवार नबन्ने सूचीमा परेका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट मान्यता पाएसँगै देउवा र डा. शेखर कोइराला पक्षका धेरै प्रभावशाली नेता किनाराकृत भएका छन्। पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतसम्म पुर्याएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिक संकटका कारण चुनावी मैदानमा नजाने निर्णय गरेका छन् भने अन्य धेरै नेताहरूको स्थायी निर्वाचन क्षेत्रमा सभापति थापाले टिकट नदिएको अवस्था देखिएको छ।
सुर्खेत–१ बाट निरन्तर चुनाव लड्दै आएका खड्काले यसपटक मैदान खाली छोडेका छन्। तीन जना पूर्व उपसभापति धनराज गुरुङ, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार पनि टिकट पाउनबाट वञ्चित भएका छन्। गत निर्वाचनमा स्याङ्जा–२ बाट निर्वाचित गुरुङ यसपटक उम्मेदवार बनेनन् भने सुनसरी–३ बाट आठौँ पटक चुनाव लड्ने गच्छदारको चाहनामा पनि ब्रेक लागेको छ। स्याङ्जामा चुनाव लड्दै आएका गोपालमान श्रेष्ठ पनि यसपटक मैदानमा उत्रिएनन्।
पूर्वमहामन्त्री शशांक कोइरालालाई समेत सभापति थापाले टिकट दिएनन्। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा शशांक नवलपुर–१ बाट २०७०, २०७४ र २०७९ सालमा निर्वाचित भएका थिए। निवर्तमान सहमहामन्त्रीहरू बन्द्र पाण्डे, जीवन परियार र उमाकान्त चौधरी तथा कोषाध्यक्ष उमेश श्रेष्ठ पनि चुनावी मैदानमा देखिने छैनन्।
काठमाडौँ–१ बाट लगातार निर्वाचित हुँदै आएका प्रकाशमान सिंहलाई पनि टिकट नदिने पक्षमा पार्टी नेतृत्व देखिएको छ। सिंह कांग्रेसका पूर्व उपसभापति हुन्। त्यस्तै सोलुखुम्बुका बलबहादुर केसी, उदयपुर–१ का डा. नारायण खड्का, काठमाडौँ–१० का राजेन्द्रकुमार केसी, सुर्खेत–२ का हृदयराम थानीलगायतले चुनाव नलड्ने घोषणा गरिसकेका छन्।
चार पटक कञ्चनपुर–३ बाट चुनाव लडेका रमेश लेखक, रुपन्देही–३ का बालकृष्ण खाण, कैलाली–५ की आरजु राणा, मोरङ–२ की सुजाता कोइराला र तेह्रथुमकी सीता गुरुङ पनि टिकटबाट वञ्चित भएका छन्। यसैगरी दोलखा, सिरहा, सिन्धुपाल्चोक, कैलाली, ललितपुर, ओखलढुंगा, संखुवासभा, सिन्धुली, भक्तपुर र काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रका चर्चित नेताहरू पनि उम्मेदवार बनेका छैनन्।
उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा सहमहामन्त्री डा. डिला संग्रौला पनि यसपटक चुनाव नलड्ने सूचीमा छन्। कांग्रेसमा यसपटक चुनाव नलड्ने वा टिकट खोसिएका अधिकांश नेता देउवा पक्षसँग सम्बन्धित रहेको विश्लेषण भइरहेको छ।