आठ जिल्लामा एमाले र प्रलोपाबीच चुनावी सहकार्य गर्ने सहमति
News Desk
Jan-26 तारिख 06:50 बिहान

कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी–प्रलोपा बीच चुनावी सहकार्य गर्ने सहमति भएको छ।

उक्त सहमतिपत्रमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष परिषद् सदस्य दुर्गा सोबले आइतबार हस्ताक्षर गर्नुभएको हो। सहमतिअनुसार रूकुमपूर्व र रूकुमपश्चिममा एमालेले प्रलोपाका उम्मेदवारलाई समर्थन गर्नेछ भने साविक राप्ती अञ्चलका अन्य जिल्लाहरूमा प्रलोपाका मतदाताले एमालेका उम्मेदवारका पक्षमा मतदान गर्ने व्यवस्था गरिएको छ।

यस सहमतिपछि रूकुमपश्चिममा एमालेका उम्मेदवार नन्दराम देवकोटा र रूकुमपूर्वमा लिलामणि गौतमको उम्मेदवारी निष्क्रिय रहनेछ। सोही अनुसार एमालेका मतदाताले रूकुमपश्चिममा प्रलोपाका जनार्दन शर्मा र रूकुमपूर्वमा प्रलोपाकै सन्दीप पुनलाई ‘आँखा’ चिन्हमा मतदान गर्नुपर्नेछ।

सहमति पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। रूकुमपूर्वका जनार्दन शर्माले २०६४ सालदेखि हालसम्म भएका सबै निर्वाचनमा तत्कालीन माओवादीबाट विजयी हुँदै आउनुभएको थियो। पछि माओवादी विभिन्न दलसँग एकीकरण गर्दै नेकपा बनेपछि शर्मा सो एकतामा सहभागी नहुँदै प्रलोपा गठन गर्नुभएको हो।

निर्वाचनका लागि दुवै दलका उम्मेदवारहरूको मनोनयन प्रक्रिया पूरा भइसकेपछि गरिएको यो तालमेलले जनार्दन शर्मा र सन्दीप पुनलाई कति फाइदा पुर्‍याउँछ भन्ने विषय भने अहिल्यै स्पष्ट हुन सकेको छैन। हुम्ला र जुम्ला बाहेक कर्णालीका अन्य सबै जिल्लामा प्रलोपाका मतदाताले एमालेको चुनाव चिन्हमा मतदान गर्ने सहमति भएको छ।