हिजो सदनमा प्रश्न उठाएँ, आज उत्तर खोज्ने र समाधान दिन मधेश आएको हुँ: सभापति थापा
News Desk
Jan-27 तारिख 06:23 बिहान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशको विकास र सम्मानका विषय आफूले बारम्बार संसद्मा आवाज उठाउँदै आएको र अब त्यसको ठोस समाधान दिनकै लागि मधेश आएको बताउनुभएको छ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले नेपाली राजनीतिमा मधेशले लोकतन्त्र स्थापनाका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँले मधेशको भूमिका र त्यागलाई राज्यले उचित सम्मान दिन नसकेकोप्रति प्रश्न उठाउनुभयो।

नेपालको लोकतान्त्रिक आन्दोलनमा मधेशको योगदान स्मरण गर्दै थापाले भन्नुभयो, “यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले किन आजसम्म देशभर पाउनुपर्ने मान–सम्मान पाउन सकेन ? यही प्रश्नको उत्तर खोज्न म मधेश आएको हुँ। यसपटक म केवल प्रश्न उठाउन होइन, समाधान खोजेर तपाईंहरूको प्रतिनिधि बन्न आएको हुँ।”

उहाँले दिवंगत कांग्रेस नेता प्रदीप गिरीलाई स्मरण गर्दै मधेशले नेपालको प्रजातन्त्र स्थापनामा खेलेको ऐतिहासिक भूमिकाबारे आफू पूर्ण रूपमा जानकार रहेको बताउनुभयो।

सभापति थापाले मधेशमा खस्कँदो शैक्षिक अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “कुनै समय मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित र विज्ञानका कक्षा चल्दैनथे,” उहाँले भन्नुभयो, “सप्तरीका गणित शिक्षकले सोलुखुम्बु पुगेर मेरा बाबालाई पढाउनुभएको थियो, जसकै कारण उहाँ इन्जिनियर बन्न सफल हुनुभयो।”

तर अहिले अवस्था उल्टिएको भन्दै थापाले इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थी कमजोर देखिनु चिन्ताजनक रहेको उल्लेख गर्नुभयो। “हिजो मैले यही प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु,” उहाँले जोड दिनुभयो।