News Desk
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँ र मधेसबीचको दूरी घटाउने उद्देश्यसहित सर्लाहीबाट उम्मेदवारी दिएको स्पष्ट गर्नुभएको छ। सर्लाही क्षेत्र नं ४ का मतदाता, जो हाल गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यवसाय र पेसामा संलग्न छन्, उनीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभयो।
सभापति थापाले आफ्नो पारिवारिक पृष्ठभूमि स्मरण गर्दै पहाड, सहर र मधेसलाई बुझ्ने यात्राले आफूलाई राष्ट्रिय नेतृत्वका लागि तयार बनाएको बताउनुभयो। “मेरो परिवार पहाडबाट काठमाडौँ आयो, आमाबाट मैले पहाड बुझेँ। काठमाडौँमै हुर्किएकाले सहरको जीवन बुझें। पार्टी सभापति भएपछि कांग्रेसलाई अघि बढाउन र देशको नेतृत्व गर्न मधेस नबुझी सम्भव छैन भन्ने महसुस भयो,” उहाँले भन्नुभयो।
काठमाडौँले मधेसलाई अझै सतही रूपमा मात्र चिनेको उल्लेख गर्दै सभापति थापाले आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको वास्तविक महत्व र योगदान बुझाउने प्रतिबद्धता जनाउनुभयो। साथै, योजनाबद्ध विकासमार्फत मधेसका आमनागरिकको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाइ थियो।
सर्लाही–४ मा शिक्षा, स्वास्थ्य, प्रविधि र कृषिलगायत क्षेत्रको अध्ययन गरेर आवश्यक योजनाहरू तयार भइसकेको जानकारी दिँदै उहाँले आवश्यकताका आधारमा काम अघि बढाइने बताउनुभयो। “जसरी अहिले काठमाडौँ–४ का बासिन्दाले मलाई यहीँबाट चुनाव लड्न आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का नागरिकले पनि त्यस्तै भरोसा र आग्रह गर्ने अवस्था बनाउनेछु,” उहाँले थप्नुभयो।
सभापति थापाले आफ्नो अनुभव, ज्ञान र नेटवर्क प्रयोग गरी शिक्षा, स्वास्थ्य र उद्यमशीलताको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट क्रमशः क्षेत्रका समस्या समाधान हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो।