News Desk
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले यसै साताभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीले यसपटक घोषणापत्रलाई परम्परागत ढाँचाभन्दा फरक, संक्षिप्त र यथार्थपरक बनाउने जनाएको छ।
कांग्रेस सभापति गगन थापाको नेतृत्वमा गठित घोषणापत्र तयारी समितिले क्षेत्रगत तथा पार्टीका विभिन्न तहबाट प्राप्त सुझावलाई समेटेर एकीकृत मस्यौदा तयार गरिरहेको छ। घोषणापत्र निर्माणका क्रममा पार्टीभित्रका नेता कार्यकर्तासँगै विभिन्न क्षेत्रका विज्ञहरूको समेत सहयोग लिइएको छ भने यसको संयोजन प्रताप पौडेलले गरिरहेका छन्।
घोषणापत्र तयारी एकीकृत चरणमा पुगेको बताउँदै संयोजक पौडेलले यसपटकको दस्तावेज विगतभन्दा छोटो तर व्यवहारिक हुने बताएका छन्। उनका अनुसार कांग्रेसले यसलाई केवल चुनावी घोषणापत्रका रूपमा नभई दीर्घकालीन ‘भिजन–१०’ डकुमेन्टका रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ, जसले पार्टीको आगामी राजनीतिक बाटो स्पष्ट गर्नेछ।
उनका अनुसार घोषणापत्र सुशासन र समुन्नति भन्ने दुई मुख्य स्तम्भमा आधारित हुनेछ। वर्तमान अवस्थामा सुशासन नेपालको गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै कांग्रेसले यस विषयमा आफ्नो दृष्टिकोण र प्रतिबद्धता स्पष्ट रूपमा प्रस्तुत गर्ने पौडेलको भनाइ छ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’ कांग्रेसको पछिल्लो राजनीतिक लक्ष्य रहेको र विशेष महाधिवेशनले समेत यसलाई पुनः पुष्टि गरेको उनले बताए। समुन्नतिलाई केवल भौतिक पूर्वाधारको विकासमा सीमित नगरी मानविय विकास, नागरिकको पहिचान, आवश्यकता र सम्मानलाई केन्द्रमा राखेर परिभाषित गरिने उनको भनाइ छ।
समग्र राष्ट्रिय मार्गचित्रभित्र स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, ऊर्जा, कृषि र वातावरणीय परिवर्तनलाई मुख्य ‘थिम’ बनाएर भिजन–१० दस्तावेज तयार गरिने बताइएको छ। क्षेत्रगत घोषणापत्र भने सम्बन्धित उम्मेदवारहरूले स्थानीय आवश्यकता र सम्भावनाका आधारमा आफैं तयार गर्ने व्यवस्था गरिएको पौडेलले जानकारी दिए।