चुनावी घोषणापत्रमार्फत नेकपाको आक्रमक सन्देशः नयाँ दलहरू सिद्धान्तहीन र विध्वंसकारी भ​एको आरोप
News Desk
Feb-11 तारिख 11:34 बिहान

काठमाडौँ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका नयाँ राजनीतिक दलहरूलाई ‘सिद्धान्तहीन’ र ‘विध्वंसकारी प्रवृत्ति’को प्रतिनिधि भएको आरोप लगाएको छ। देशका राजनीतिक शक्तिहरूलाई चार वर्गमा विभाजन गर्दै पार्टीले यस्ता दलहरूमाथि कडा टिप्पणी गरेको हो।

घोषणापत्रमा नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’को रूपमा प्रस्तुत गर्दै रास्वपा लगायतका नयाँ शक्तिहरूलाई ‘पपुलिष्ट’ करार गरेको छ। ती शक्तिहरूलाई भदौ २४ को विध्वंससँग जोडिएका तत्वसँग सम्बन्धित रहेको भन्दै पार्टीले गम्भीर आरोपसमेत लगाएको छ।

नेकपाले राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार समूहमा वर्गीकरण गरेको छ। यसमध्ये आफू क्रान्तिकारी धारको प्रतिनिधि भएको र समाज रूपान्तरणका लागि स्पष्ट समाजवादी कार्यदिशा बोकेको दाबी घोषणापत्रमा गरिएको छ।

विशेषगरी ‘नयाँ’ भन्दै उदाएका दलहरूमाथि नेकपाको कडा प्रहार देखिन्छ। घोषणापत्रमा उल्लेख गरिएको छ कि यस्ता पपुलिष्ट शक्तिहरू न त स्पष्ट सिद्धान्तमा आधारित छन्, न त दीर्घकालीन दृष्टिकोणमै। उनीहरू मुलुकका गम्भीर समस्या समाधान गर्न असक्षम र जनहितविपरीत रहेको दाबी पार्टीको छ।

विगतका जनआन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको स्मरण गराउँदै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता उपलब्धि आफ्नै संघर्षको परिणाम भएको उल्लेख गरेको छ। ‘व्यवस्था परिवर्तन हामीले गर्‍यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ’ भन्ने नारासहित नेकपाले अरू दलहरू भाषणमै सीमित हुँदा आफूले व्यवहारमै परिवर्तन गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको छ।

धेरै पढिएको

Related Post