News Desk
काठमाडौँ |नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठन हुने एमाले नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिक कामहरू स्पष्ट समयसीमा निर्धारण गरी कार्यान्वयनमा ल्याउने बताएका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सुशासन, तीव्र विकास र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै २५ वटा नीतिगत स्तम्भमार्फत सरकार अघि बढ्ने उनले जानकारी दिए।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको बहसलाई भ्रामक प्रचारको संज्ञा दिए। देशको निर्माण पुस्ताबीचको द्वन्द्वबाट नभई सहकार्य र समन्वयबाट सम्भव हुने उनको भनाइ थियो। युवालाई ऊर्जा र जोशको प्रतीकका रूपमा उल्लेख गर्दै उनले अनुभवलाई मार्गदर्शन दिने उज्यालोसँग तुलना गरे।
उनले आगोले दिशा पाउनुपर्ने र उज्यालोलाई ऊर्जा आवश्यक पर्ने उदाहरण दिँदै युवा शक्ति र अनुभवी नेतृत्वको संयोजनबाट मात्र राष्ट्रको भविष्य सुदृढ र उज्ज्वल बन्ने धारणा व्यक्त गरे।
अध्यक्ष ओलीले आगामी निर्वाचनलाई केवल पुस्तान्तरणको विषयका रूपमा नभई देशलाई निर्माणको मार्गमा लैजाने वा अव्यवस्थातर्फ धकेल्नेबीचको निर्णायक जनमत सङ्ग्रहका रूपमा लिनुपर्ने बताए।