रास्वपाबाट बालेन शाह प्रधानमन्त्री बन्ने तयारी, नियुक्ति प्रक्रिया अन्तिम चरणमा
News Desk
Mar-27 तारिख 06:42 बिहान

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेसँगै उनी प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई संसदीय दलको नेतृत्व सुम्पिएपछि अब उनलाई प्रधानमन्त्री नियुक्त गर्ने औपचारिक प्रक्रिया सुरु भएको हो।

यस पटक प्रतिनिधिसभामा रास्वपाको करिब दुई तिहाइ बहुमत पुगेको अवस्थामा सरकार गठनका लागि राष्ट्रपतिबाट छुट्टै आह्वान आवश्यक नपर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ। सामान्यतः स्पष्ट बहुमत नहुँदा मात्रै राष्ट्रपतिले दलहरूलाई सरकार गठनका लागि बोलाउने प्रावधान रहँदै आएको छ।

अब रास्वपाले आफ्नो संसदीय दलको नेता चयन भएको जानकारी लिखित रूपमा राष्ट्रपति कार्यालयमा पठाएपछि सोही आधारमा प्रधानमन्त्री नियुक्ति हुनेछ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, दलबाट पत्र प्राप्त हुनेबित्तिकै नियुक्ति प्रक्रिया अघि बढाइनेछ।

रास्वपाले पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने स्पष्ट उल्लेख गर्नुपर्नेछ। यस्तो पत्र प्राप्त भएपछि राष्ट्रपतिले सोही अनुरूप प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसअघि नै शुक्रबार (चैत १३) दिउँसो १२ बजेपछि नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी सुरु भइसकेको छ। कार्यक्रममा संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, विभिन्न दलका नेता तथा सुरक्षा निकायका प्रमुखहरूलाई निमन्त्रणा गर्ने प्रचलन अनुसार तयारी अघि बढाइएको जनाइएको छ।

धेरै पढिएको