News Desk
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पूर्वमाओवादीबाट एकतामा आएका २ जना सहित एमाले र जनता समावादी पार्टीका तर्फबाट सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् पुनर्गठनको सूचना प्रकाशित गरिसकेको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा खगराज अधिकारीलाई गृह, राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास, नारद मुनी रानालाई वन तथा वातावरण, गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन र मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषदमा आशाकुमारी विक वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छिन् ।
कास्की– १ बाट निर्वाचित अधिकारी सुशील कोइराला सरकारमा स्वास्थ्य मन्त्री थिए। सिरहा– ४ बाट जसपाबाट निर्वाचित यादव पनि दोस्रोपटक मन्त्री भएका हुन् । बाबुराम भट्टराई सरकारमा उनी सञ्चार मन्त्री थिए ।
नैनकला थापा राष्ट्रिय महिला आयोगको अध्यक्ष थिईन् ।
पूर्वराज्यमन्त्री साह प्रदेश २ को प्रदेश सभा सदस्य थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग गरेपछि उनले एमाले रोजेपछि माओवादी केन्द्रले प्रदेश सभा सदस्यबाट मुक्त गरेको थियो । कैलाली– ५ बाट कांग्रेस नेतृ आरजु राणालाई पराजित गर्दै एमालेबाट निर्वाचित भएका रानाले पहिलोपटक मन्त्री हुने अवसर पाएका छन्। उनी २०६४ मा पनि संविधान सभा सदस्य थिए। सिन्धुली– १ मा एमालेबाट निर्वाचित पहाडी पनि पहिलोपटक मन्त्री भएका हुन । उनी दुई पटक सांसद भइसकेका व्यक्ति हुन्। एमालेका बानियाँ पहिलोपटक मन्त्री भएका हुन । उनी २०७० मा पनि एमालेबाट निर्वाचित भएका थिए ।
राज्यमन्त्री विक बझाङबाट निर्वाचित एमाले समानुपातिक सांसद हुन ।