News Desk
केशव ढकाल
पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन्।
पोखरेलले शुक्रबार मात्रै ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए।
पृथ्वी सुब्बा गुरुङले पनि राजमोका पदमुक्त सांसद कृष्ण थापा र जसपाका महन्थ ठाकुर पक्षको प्रदेश समितिको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर, प्रदेश प्रमुख पौडेलले त्यसलाई अस्वीकार गर्दै पोखरेललाई नियुक्त गरेकी हुन्।
पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो र एक जना स्वतन्त्र सांसद्को साथ छ। उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ।संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएकाले उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।