News Desk
काठमाडौं । छठ पर्व आजदेखि सुरु भएको छ। सूर्य उपासनाको पर्वका रुपमा चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन्।आजको दिनलाई अरवा अरवाईन वा नहाए खाए भनिन्छ। दोस्रो दिन खरनाअन्तरर्गत उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यलाई आहृवान गरिन्छ।
तेस्रो दिन पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकारहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ। यसलाई ‘संझियाघाट’ भनिन्छ। अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन हुन्छ।
छठ पर्वका लागि छठको घाट सजाउन तराई र देशका अन्य भूभागका स्थानीय जोडतोडका साथ लागेका छन्। विभिन्न खोलानाला, जलाशय र पोखरीको किनारमा गरिने छठको अनुष्ठानका लागि बाराका पोखरी र खोलानालाहरू सजाउने काम भइरहेको छ।
पूर्वी तराईका झापा, मोरङ र सुनसरीका विभिन्न नदी, पोखरी तथा तलाहरूमा घाटहरूको सरसफाइ तथा सजावटको कामलाई तीव्रता दिइएको आयोजकहरूले जनाएका छन्। शुद्ध, सात्त्विक र पवित्र भई गरिने सूर्य पूजाको उपासना छठको व्रत गर्नाले आफ्ना मनोकामना पूरा हुने र सुखशान्ति आउने जनविश्वास छ।