News Desk
पछिल्लो समय अधिकांश पहाडे समुदायले पनि छठ पर्व मनाउने गरेका छन्। जिल्लाको बागमती, बरहथवा, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुरका छठीघाटमा पहाडे समुदायको उल्लेख्य उपस्थिति देखिन्छ।
हरिवन नगरपालिका–८ पुरानो बजारकी पार्वती राई छठको ब्रत बस्दै आएकी छिन्। उनले आफुले गरेको भाकल पूरा भएपछि १५ वर्षदेखि छठ पर्व मनाउँदै आएको बताउँछिन्। त्यस्तै आफ्नो मनोकांक्षा पूरा भएपछि बागमती नगरपालिका–शंकरपुरका एकबहादुर श्रेष्ठले २० वर्षदेखि छठ पर्व मनाउँदै आएको बताउँछन्। घरमा अशान्ति, रोगव्याधले पिरोलेपछि छिमेकीको सल्लाहअनुसार छठ पर्व मनाउँदै आएको बताए।
छठ पर्वको मुख्य दिन (आज) आइतवार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइयो। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रवारदेखि सुरु भएको हो। छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधान छ। आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हट्ने जनविश्वास छ।