News Desk
ताप्लेजुङको प्रशिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीले भेटी चढाएका भारतीय (भारु) सिक्का गन्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा संकलन भएका भारतीय सिक्का पहिलो पटक गन्न लागेको हो।
पाथीभरा दर्शनमा आउने भक्तजनले देवीको नाममा भेटीका रुपमा नोट र सिक्का चढाउने तथा दान गर्ने गर्छन्। हालसम्म नोट मुद्रा र नेपाली सिक्कामात्र गणना गरी व्यवस्थापन गरिँदै आएको थियो। यस पटकदेखि भारतीय सिक्का पनि गणना गर्न थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ दोस्रो सातायता भारतीय सिक्का गन्न शुरु गरेको र हालसम्म ४ लाख ९० हजार रुपैयाँभन्दा बढी गनेर सकिएको छ।
उनका अनुसार अहिले समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको छ।
समितिका अनुसार पाथीभरामा संकलन भएको भारतीय सिक्काको अझै ठूलो परिमाण गन्न बाँकी छ। भारतीय सिक्का १० रुपैयाँ, ५, २ र १ रुपियाँ दरका रहेका छन्। भारतीय सिक्का गनिसकेपछि साट्नका लागि प्रक्रिया अघि बढाइनेछ।
पाथीभरामा संकलित भेटी रकमअन्तर्गत पुस मसान्तसम्म गणना भएको नेपाली सिक्का र नोट गरी समितिको खातामा ८ करोड ७० लाख ५२ हजार ५४८ रुपैयाँ मौज्दात रहेको छ।
समितिका अनुसार कुल मौज्दात रकममध्ये पुसमा मात्र ३५ लाख २९ हजार रुपैयाँ भेटी रकम संकलन भएको थियो।
माघयता पाथीभरामा संकलित भेटी भने धमाधम गनिरहेको र आम्दानी बाँध्न बाँकी रहेको समितिले जनाएको छ।
पाथीभरामा भेटीवापत भारतसहित दर्जनौँ विभिन्न देशका विदेशी मुद्रासमेत संकलन हुँदै आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।