जानकी नवमी पर्व श्रद्धा भक्तिपूर्वक मनाइयो
News Desk
May-17 , 2024 तारिख 03:31 बेलुका

वैशाख शुक्ल नवमीमा मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व शुक्रवार श्रद्धा भक्तिपूर्वक मनाइएको छ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्मपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।

सीता उत्पत्ति भएको यस दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी मनाइन्छ। जगज्जननी माता जानकी प्रकट भएको स्मरणमा जनकपुरधाममा जानकी नवमी धुमधामका साथ मनाइन्छ। एक सातादेखि यहाँका मन्दिरहरूमा विभिन्न धार्मिक अनुष्ठान जारी रहे पनि शुक्रवार वैशाख शुक्ल नवमीका दिन भने बेग्लै चहलपहल र रौनक देखिएको छ।

मिथिलाका राजा राजर्षि जनकको राज्यमा खडेरी परेपछि किसानहरूको हौसला बढाउन र वर्षाका लागि इन्द्रलाई आग्रह गर्न स्वयं खेतमा हलो जोतिरहेको अवस्थामा यसै दिन माता जानकी धर्तीबाट प्रकट भएको स्मरणमा जानकी नवमीलाई जानकी जन्मोत्सवको रूपमा श्रद्धाभक्तिपूर्वक मनाइन्छ। मिथिला भूमिको महत्त्व सीता जन्मले झन बढेकाले मिथिला क्षेत्रमा जानकी नवमीको विशेष महत्त्व रहेको पण्डित गोविन्द दीक्षितले बताए।

जानकी मन्दिरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। शुक्रवार बिहान ऐतिहासिक दूधमती नदीमा शाही स्नान सम्पन्न भएको छ भने जानकी मन्दिरमा प्राकट्य महोत्सव, बधैयागान सहितका विभिन्न कार्यक्रम गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। राष्ट्रिय विभूति सीताको जन्मदिवसमा सरकारी पक्षबाट कुनै किसिमको तयारी नगरिएकोमा उनले चिन्ता व्यक्त गरे।

सीतालाई हिन्दु धर्मावलम्बीहरू आदर्श नारीको रूपमा लिन्छन। 

धेरै पढिएको