News Desk
काठमाडौं, कात्तिक – तिहारको समापनसँगै काठमाडौंका विभिन्न ८ स्थानमा छठ पर्वको भव्य तयारी सुरु भएको छ। सूर्यदेवको आराधना गर्ने यो पर्व तराईमा मनाइँदै आए पनि अहिले हिमाल, पहाड, र तराईमा पनि व्यापक रूपमा मनाइन्छ। छठ पर्वमा सूर्य देवलाई विशेष पूजाआजाका साथ सम्मान जनाउने गरिन्छ। साँस्कृतिक र आध्यात्मिक आस्थासँग जोडिएको यो पर्वले सम्पूर्ण मानवलाई सूर्यको जीवनदायिनी उर्जाको सम्झना दिलाउँछ।
काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा छठ पर्व व्यवस्थापनका लागि तयारी गरिरहेको छ, जसमा पोखरीको सरसफाइ, घाट सजावट, र छठ स्थल व्यवस्थापनका कार्यहरू भइरहेका छन्। महानगरपालिकाले ८ प्रमुख स्थानहरू - गौरीघाट (वडा ८), कोटेश्वर दोभान (वडा ३२), कमलपोखरी (वडा १), वंशीघाट (वडा ११), बालाजु बाइसधारा (वडा १६), धौखेल खोला (वडा १३), कुमारी क्लब (वडा १४), र भुवनेश्वरी मन्दिर (वडा १४) मा छठको आयोजना भइरहेको जनाएको छ। 
हरेक वडामा पोखरी वरिपरि रंगरोगन, केराका थाम, र झिलिमिली बत्तीले सजाइएको छ। यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूध र जलले अर्घ्य दिइन्छ, जसले जीवनको शक्ति र प्रकृतिप्रतिको श्रद्धालाई प्रतिविम्बित गर्छ।
काठमाडौं महानगरपालिकाले छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण भक्तजनलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।