News Desk
गढीमाई मन्दिर परिसरमा श्रद्धालुहरूको आउनेक्रम बढेको छ। प्रत्येक पाँच वर्षमा महागढीमाई नगरपालिका-१, वरियापुरमा आयोजना गरिने यो पञ्चवर्षीय मेलाले यस वर्ष थप भव्यता पाएको छ। नगरप्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार मेलाको व्यवस्थापन र सुरक्षाका लागि विशेष कदम चालिएको छ।
मेलामा आउने श्रद्धालुहरूको लागि मन्दिरमा दर्शनको प्रक्रिया व्यवस्थित गर्न सुरक्षा घेराबन्दी, पंक्तिबद्ध दर्शन प्रणाली, र विशेष पूजा गर्न चाहनेका लागि टिकट प्रणाली जस्ता उपाय अवलम्बन गरिएको छ। मेलामा कसैलाई कुनै असुविधा नहोस भनेर सबै सम्भावित चुनौतीहरूको सामना गर्न तयार छौं, यादवले बताए।
गढीमाई मेलामा मातासँग भाकल माग्ने र पूरा भएपछि पशुबली चढाउने परम्पराले हर्षोल्लास बढाए पनि यो प्रथा विवादरहित छैन। बलिप्रथा विरुद्ध बोल्नेहरूलाई यादवले भने, यो हाम्रो सांस्कृतिक सम्पदा हो, जुन पञ्चवर्षीय रूपमा आयोजित हुन्छ। श्रद्धालुहरूलाई रोक्न सकिने कुरा होइन। पञ्चबलि प्रक्रिया आइतबारदेखि सुरु हुनेछ, जसमा राँगा र सोमबार बोकाको बलि दीनेछ। बलि प्रथाको लागि सबै तयारी पूरा भइसकेको छ, यादवले जानकारी दिए।
श्रद्धालुहरूलाई मनोरञ्जन र सुविधाका लागि मेलामा रोटेपिङ, सर्कस, रोलरकोस्टर, थिएटर, र विभिन्न अन्य आकर्षण थपिएको छ। स्थानीय तथा बाह्य व्यापारीहरूले विभिन्न सामग्रीका स्टलहरू राखेका छन्, जसमा फुलप्रसाद, परिकार, र अन्य सामग्री उपलब्ध छन।
विशेष गरी स्वास्थ्य सेवाका लागि निशुल्क शिविर, आकस्मिक सेवा टोली, र व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन। मेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, र स्वयंसेवकहरू खटाइएको छ ।
गढीमाई मेला व्यवस्थापन समितिले मेलाको प्रभावकारी व्यवस्थापनका लागि श्रद्धालुहरूको सुझावलाई स्वागत गर्ने प्रतिबद्धता जनाएको छ। जहाँ कमजोरी छ, तुरुन्त सुधार गर्न तयार छौं, यादवले भने।
मेलामा दैनिक १० लाखभन्दा बढी भक्तजनले सहभागिता जनाइरहेको अनुमान गरिएको छ। व्यवस्थापन समितिले आगामी दिनमा अझ बढी भिडभाड हुने भएकाले सुरक्षा र शान्तिपूर्ण दर्शनका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। गढीमाई मेला, परम्परा र आधुनिक व्यवस्थापनको अनुपम उदाहरण बनेको छ, जसले सांस्कृतिक र धार्मिक आस्थालाई जीवन्त राख्न मद्दत पुर्याएको छ।