News Desk
मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’मा दोस्रो दिन अवलोकनकर्ताहरूको घुइँचो लागेको छ।
शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, र बाहाखाबजारसम्म महोत्सव अवलोकन गर्न आउनेहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। स्थानीय खानाका स्टलहरू—जस्तै योमरी, बारा, चटामरी, र नेवारी परिकारका स्थानहरूमा विशेष चहलपहल देखिन्थ्यो।
महोत्सवमा नेवारी परिकार, ऐला, र छ्याङ जस्ता पेय पदार्थका स्टलहरू अवलोकनकर्ताको मुख्य आकर्षण बनेका थिए।
आजको कार्यक्रममा सांसद दूर्लभ थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विभिन्न दलका नेताहरू, जनप्रतिनिधिहरू तथा आन्तरिक र बाह्य पर्यटकहरूको सक्रिय उपस्थिति रहेको थियो।
महानगर प्रमुख महर्जनले महोत्सवमा देखिएको भीडले यहाँको कला, संस्कृति, र स्थानीय परिकारप्रतिको आकर्षण स्पष्ट भएको धारणा व्यक्त गरे। साथै, उनले ऐतिहासिक र धार्मिक सम्पदाको प्रवर्द्धन तथा आर्थिक विकासका लागि यस्ता महोत्सव बेलाबेलामा आयोजना गर्नु आवश्यक रहेको बताए।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवले पर्यटन प्रवर्द्धनमा सकारात्मक ऊर्जा थपेको बताउँदै, यसले स्थानीय धार्मिक तथा ऐतिहासिक सम्पदा, कला र संस्कृतिको महत्व उजागर गरेको उल्लेख गरे।
उनले मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयस्रोतसँग जोडेर अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यसहित महोत्सव सञ्चालन गरिएको जानकारी गराए। शुक्रबारदेखि सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने र यसले पर्यटन र आर्थिक गतिविधि प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
महोत्सव अवधिभर नगरका ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, सम्पदा तथा स्थानीय मौलिक खानाका परिकार र उत्पादनहरू प्रदर्शनीमार्फत प्रवर्द्धन गरिँदैछ। मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चिनाउने उद्देश्य राखिएको छ।
शङ्खधरचोकबाट सुरु भई बालकुमारी, चपाचो, नगदेश, बोडे, टिगनी, नीलबाराहीजस्ता ऐतिहासिक बस्तीहरूमा विविध कार्यक्रम र प्रदर्शनीका साथ महोत्सव जारी रहेको नगर प्रमुख श्रेष्ठले जानकारी गराए।