News Desk
माघी पर्व नजिकिँदै गर्दा थारु समुदायमा चहलपहल बढ्न थालेको छ। यो पर्वलाई नयाँ वर्षको रूपमा मनाउने चलन रहेकोले बस्तीहरूमा विशेष रौनक छाएको देखिन्छ।
पर्वको तयारी एक महिनाअघि नै सुरु हुने परम्पराअनुसार अहिले नाचगान, खानपान, र अन्य तयारीमा समुदायका मानिसहरू जुटिरहेका छन्। स्थानीयका अनुसार दाउरा, पात संकलन, पिसान कुटाइ, र विशेष परिकारहरू तयार गर्ने काम तीव्र रूपमा भइरहेको छ। ढिक्री, रोटी, जाँड, र भातजस्ता परिकारका लागि आवश्यक सामग्री जुटाउने क्रम चलिरहेको छ।
पुस महिनामै तयारी पूरा गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म यो पर्व धुमधामले मनाइन्छ। यस अवसरमा गाउँका अगुवाहरूको घरमा भेला भएर वर्षभरिका योजनाहरू बनाउने, पुराना नियमहरू परिमार्जन गर्ने, र नयाँ नियम लागू गर्ने चलन रहिआएको छ।
पुरुषहरू घर बाहिरका तयारीमा व्यस्त छन् भने महिलाहरू खानपानका सामग्री तयार गर्दैछन्। माघीको अघिल्लो दिन विशेष रूपमा आगोको धुनी बालेर ताप्ने, नदी या खोलामा स्नान गर्ने, र खिचडी दान गर्ने परम्परा रहेको बताइन्छ। खिचडीमा मासको दाल, चामल, र नुन मिसाएर देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ, जुन पाहुरका रूपमा वितरण गरिन्छ।
पर्वको प्रमुख आकर्षणमा मघौटा नाच पर्छ, जसले समुदायको सांस्कृतिक र कलात्मक भाव झल्काउँछ। यस नाचलाई विशेष शृङ्गार र करुण रसले भरिएको मानिन्छ।
यो पर्व खेतीपाती, आर्थिक कारोबार, र सामाजिक सम्बन्धहरूको पुनरावलोकन गर्दै नयाँ योजनाहरू बनाउने अवसरका रूपमा लिइन्छ। माघी नजिकिएसँगै गाउँमा उल्लास र उमङ्गको माहोल छाएको छ।