सरस्वतीको पूजा तथा आराधना गरेर आज वसन्त पन्चमी मनाईदै
News Desk
Feb-03 , 2025 तारिख 06:18 बिहान

आज माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी पर्व उल्लासपूर्वक मनाइँदैछ। यो पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा तथा वसन्त श्रवण गरेर मनाउने परम्परा रहेको छ।

यस अवसरमा नासलचोक, हनुमानढोकामा आज बिहान वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभ साइतअनुसार बिहान ७:५५ बजे कार्यक्रम सुरु हुनेछ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता रहने जानकारी हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले दिएका छन्। यस विशेष कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख तथा सदस्यहरू, प्रदेशसभा सदस्यहरू लगायतको उपस्थिति रहनेछ।

आजकै दिन श्रीपञ्चमी पर्व पनि धुमधामका साथ मनाइन्छ, जसमा देवी सरस्वतीको श्रद्धापूर्वक पूजा–आराधना गरिन्छ। गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा तथा भुवनेश्वरी लगायत विभिन्न नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी सरस्वतीलाई विशेष रूपमा साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरू आफ्नो कला तथा अध्ययन सामग्री जस्तै कलम, कापी, कुची, वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मान्दै पूजा गर्छन्। तान्त्रिक परम्परामा सरस्वतीलाई तारादेवीका रूपमा पनि मानिन्छ।

यस दिनलाई वसन्त पञ्चमी भन्ने अर्को कारण भनेकै यो ऋतु परिवर्तनसँग सम्बन्धित छ। सूर्य उत्तरतिर लाग्नाले दिन लामो हुँदै जान्छ र वसन्त ऋतुको प्रारम्भ हुन्छ। ऋग्वेदमा वाग्देवी भनेर वर्णित ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा–उपासना गरेमा ज्ञान, सिद्धि तथा सद्बुद्धि प्राप्त हुने उल्लेख छ। आजकै दिन विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

वसन्त पञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह (इही) जस्ता धार्मिक तथा सामाजिक कार्यहरूका लागि साइत हेर्नु पर्दैन भन्ने मान्यता रहेको छ। साथै, बालबालिकालाई शिक्षारम्भ गराउने, नाक–कान छेड्ने कार्य गर्न पनि शुभ मानिन्छ।

यस दिन उपत्यकाका विभिन्न प्रमुख सरस्वती मन्दिरहरूमा विशेष पूजा–आराधना गरिन्छ। डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारा (नीलसरस्वती मन्दिर), ललितपुरको लेले लगायत अन्य जिल्लाका सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। विशेषगरी विद्यार्थीहरू देवी सरस्वतीको दर्शनका लागि मन्दिरहरूमा पुग्ने गर्छन्। धार्मिक विश्वासअनुसार सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या तथा बुद्धिको विकास भई चेतनाको ज्योति प्राप्त हुन्छ भन्ने मान्यता छ।

आजको दिन विद्याकी देवी सरस्वतीको कृपा प्राप्त गर्ने अवसर भएकोले भक्तजनहरू श्रद्धापूर्वक पूजाआजा गरिरहेका छन्।

धेरै पढिएको