प्रयागराज महाकुम्भ यात्राः एक अनुपम आध्यात्मिक अनुभव
News Desk
Feb-13 , 2025 तारिख 09:05 बिहान

- हरिराज वाग्ले

म्याग्दे – ७, साँगे, पयेर

 भारतको प्रयागराजमा भैरहेको महाकुम्भ मेला आस्था, अध्यात्म, र भक्ति भावको अद्वितीय पर्व हो, जसले हिन्दु धर्मावलम्बीहरूको जीवनमा अपार महत्त्व राख्छ। वैदिक परम्परा र ज्योतिषीय गणनामा आधारित यो पवित्र मेला प्रत्येक १४४ वर्षमा एक पटक मात्र आयोजना गरिन्छ, जसले यसलाई दुर्लभ र ऐतिहासिक बनाउँछ। महाकुम्भ मेला सन २०२५ (वि.सं.२०८१) मा परेकाले, जुन जीवनमा एक पटक मात्र आउने अवसर हामीलाई प्राप्त हुनु  सौभाग्यको बिषय हो। अर्को महाकुम्भ मेला पुनः आउन १४४ वर्ष कुर्नुपर्ने भएकाले, मैले यो अनुपम खगोलीय संयोगलाई साक्षात्कार गर्ने निर्णय गर्दै प्रयागराज यात्राको योजना बनाएँ।

कुम्भ मेलाको पौराणिक र ज्योतिषीय महत्व

कुम्भ मेलाको उत्पत्ति हिन्दू धर्मशास्त्र र ज्योतिषीय गणनासँग गहिरो रूपमा जोडिएको छ। वैदिक मान्यता अनुसार, जब वृहस्पति (बृहस्पति ग्रह) मेष राशिमा प्रवेश गर्छ र सूर्य तथा चन्द्रमा वृश्चिक राशिमा संयोग हुन्छन्, त्यस समयमा गंगाजल अमृतमय बन्ने विश्वास गरिन्छ। हरेक १२ वर्षमा कुम्भ मेला आयोजना हुन्छ भने १२ वटा कुम्भ मेला व्यतीत भएपछि एक पटक मात्र महाकुम्भ मेला लाग्छ, जसले अझ गहिरो आध्यात्मिक महत्व बोकेको हुन्छ।

कुम्भ मेलाको पौराणिक कथा समुद्र मन्थनसँग जोडिएको छ, जसमा देवता र असुरहरूले अमृत प्राप्त गर्न समुद्र मन्थन गरेका थिए। अमृतको कलश (कुम्भ) प्राप्त भएपछि भगवान विष्णुका वाहन गरुडले उक्त अमृत लिएर उड्दा चार स्थानमा थोपा खसेको विश्वास गरिन्छ—प्रयागराज, हरिद्वार, नासिक, र उज्जैन। यी चार स्थान नै कुम्भ मेलाका प्रमुख तीर्थस्थल हुन।

आस्थाको यात्रा

महाकुम्भ मेलामा लाखौं भक्तजन, साधु-सन्त, योगी, र आध्यात्मिक साधकहरू संसारभरबाट उपस्थित हुन्छन। यो दुर्लभ अवसरलाई सम्झेर म नेपालबाट करिब ३० जनाको समूहसहित यो पवित्र यात्रा गर्ने योजना बनाएँ। हाम्रो उद्देश्य माघ -२१ (फेव्रुअरी - ३ , २०२५) श्रीपञ्चमीका दिन प्रयागराज पुगेर पवित्र गंगास्नान गर्ने थियो।

हाम्रो यात्रा कार्यक्रम निम्नानुसार थियोः

पहिलो दिनः काठमाडौंबाट सुनौली प्रस्थान

दोस्रो दिनः सुनौली हुँदै काशी (वाराणसी) प्रस्थान

तेस्रो दिनः काशीबाट प्रयागराज यात्रा

चौथो दिनः महाकुम्भ मेलामा भाग लिने, पवित्र स्नान गर्ने

पाँचौं दिनः अयोध्या भ्रमण

छैठौं दिनः अयोध्याबाट देवघाट, नेपाल हुँदै काठमाडौं फर्किने

छ दिनको यात्राका लागि यातायात, भोजन, र आवास खर्चसमेत गरेर प्रति व्यक्ति करिब १५,००० रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

प्रयागराजमा प्राप्त आध्यात्मिक अनुभव

प्रयागराज पुग्दा, गंगा, यमुना, र अदृश्य सरस्वती नदीहरूको त्रिवेणी सङ्गममा लाखौं भक्तजनहरूको भीड देख्दा म भावविभोर भएँ। वातावरण मन्त्रजप, भजन, र ध्यानमग्न साधु-सन्तहरूको दिव्य उपस्थितिले भरिएको थियो।

निर्धारित शुभ समय अनुसार त्रिवेणी सङ्गममा गंगास्नान गर्ने अवसर पाउँदा अवर्णनीय शान्तिको अनुभूति भयो। मान्यता अनुसार, महाकुम्भ मेलामा गंगास्नान गर्दा जन्म-जन्मान्तरका पापहरू नष्ट भई मोक्ष प्राप्ति हुन्छ। त्यहाँ नागा साधुहरूलाई ध्यानमा लिनु, धार्मिक अनुष्ठानहरूमा भाग लिनु, र आध्यात्मिक चिन्तन गर्न पाउनु एक विलक्षण अनुभव थियो।

कुम्भ मेला मात्र धार्मिक पर्व नभएर सांस्कृतिक, दार्शनिक, र आध्यात्मिक विमर्शको केन्द्र पनि हो। यहाँ विभिन्न धर्मगुरु, विद्वान्, र योगीहरू धर्म, जीवनको सार, र अध्यात्मबारे प्रवचन दिन्छन।

किन यो महाकुम्भ मेला अद्वितीय छ ?

अघिल्लो महाकुम्भ मेला सन १८८१ (वि।सं। १९३७) मा परेको थियो, र अर्को महाकुम्भ मेला सन २१६९ मा मात्र आउनेछ। यसको अर्थ, सन २०२५ को महाकुम्भ मेला हामीमध्ये अधिकांशका लागि जीवनभरको एकमात्र अवसर हो। हाम्रा हजुरबा-हजुरआमाले देख्नुभएको यो पर्व अब हाम्रा सन्ततिहरूले मात्र इतिहासमा पढ्न पाउनेछन।

हिन्दू धर्म, आध्यात्मिक चिन्तन, वा मानव सभ्यताको अनुपम संगमको अनुभव गर्न चाहने जो-कोहीका लागि यो महाकुम्भ मेला अवश्य जानुपर्ने अवसर हो। यो यात्रा केवल धार्मिक लाभ मात्र नभएर आस्थाको एक अद्भुत उत्सव हो, जुन पृथ्वीको सबैभन्दा ठूलो आध्यात्मिक समागमको रूपमा प्रसिद्ध छ।

म यस पवित्र यात्रालाई सम्झँदा धन्य महसुस गरिरहेको छु। महाकुम्भ मेला केवल एक धार्मिक मेला मात्र होइन, यो आस्थाको महासागर, सनातन हिन्दू परम्पराको गौरव, र आध्यात्मिक उन्नतिको बाटो पनि हो। यदि तपाईं अझै सोच्दै हुनुहुन्छ भने, म आग्रह गर्छु—यस अवसरलाई नछुटाउनुहोस। यो अनुपम खगोलीय संयोग तपाईंको जीवनमा फेरि नआउने सम्भावना छ। दिव्यता अँगाल्नुहोस्, पवित्र स्नान गर्नुहोस्, र इतिहासको साक्षी बन्नुहोस।

जय गङ्गा मइया! जय महाकुम्भ!

 

धेरै पढिएको