News Desk
बुद्धजन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह यही फागुन १४ गतेदेखि हुने भएको छ।
अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा यही फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने जनाइएको छ।
यसैगरी अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा यही फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ।
त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित अल्पकालीन श्रामणेरहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
उक्त चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकको भनाइ छ।
गत वर्षझैँ यसवर्ष पनि दुई ठूला कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
उनले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यावहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गरे।
यसैगरी फागुन १४ गतेसम्म अल्पकालीन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासङ्घले जनाएको छ।
भिक्षु तेछावरले ५ सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। भगवान बुद्धको शिक्षा अनुसरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन विशेष गरी स्थानीयलाई भिक्षु तेछावरको आग्रह छ।
बुद्धका उपदेशलाई व्यवहारमा पालना गर्न प्रवज्या कुलपुत्र कार्यक्रम राखिएको हो।
यही फागनु २० गते प्रवज्या, २२ गते लुम्बिनी हलमा भिक्षाटन, २४ गते दीप प्रज्ज्वलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराइ चैत ३ गते प्रमाणपत्र वितरण गरी समापन गर्ने गरी कार्यतालिका छ।
प्रमाणपत्र वितरणपछि चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन।