पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा
News Desk
Feb-27 , 2025 तारिख 12:35 बेलुका

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा गरिएको छ। बुधबार बेलुकी करिब ६ बजे शुरु भएको पूजा बिहीबार बिहान ६ बजे सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए।

बुधबार साँझ करिब ६ बजे शुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिएको र लगत्तै दोस्रो प्रहर पूजा शुरु भई करिब पौने १२ बजेसम्म चलेको थियो। लगत्तै तेस्रो प्रहरको पूजा शुरु भई पौने ३ बजे हाराहारीमा सकिएको थियो। त्यसपछि चौथो प्रहर पूजा सुरु भई बिहान ६ बजे सकिएको हो।

महाशिवरात्रिको अवसरमाजप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ। यसका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिएको छ। यो अवसरमा ​कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। 

प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भएको छ। प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ। यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि गर्ने परम्परा छ।

महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्ने कोषका सदस्यसचिव थापाले बताए।

धेरै पढिएको