News Desk
पशुपति क्षेत्रस्थित अग्निहोत्रीशाला वैशाखदेखि सञ्चालनमा आउने भएको छ।
सञ्चालनका लागि अग्निहोत्री नै चाहिने र उनी तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोत्रीशाला बन्द थियो। पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सञ्चालनमा रहेको थियो।
संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनः सञ्चालन गर्न लागिएको सदस्यसचिव डा। मिलनकुमार थापाले राससलाई जानकारी दिए।
अग्निहोत्रीको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए। अग्निहोत्रीशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ। विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोत्रीले अग्निहोत्रीशाला सञ्चालन गरिरहेका थिए।
गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि विगत दुई वर्षदेखि बन्द भएको हो। अग्निहोत्री परिवारकी डा। माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोत्रीशाला नियमित सञ्चालन हुँदै आएको बताउँछिन। यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले बताइन।