News Desk
आज देशभर श्रद्धापूर्वक आमाको मुख हेर्ने पर्व मनाइँदै
आज वैशाखकृष्ण औँसीका दिन देशभर श्रद्धा र भक्तिपूर्वक आमाको मुख हेर्ने पर्व मनाइँदैछ। जन्मदात्री आमाप्रति श्रद्धा, सम्मान र आशीर्वाद प्राप्त गर्ने उद्देश्यले यो पर्व मनाउने परम्परा रहिआएको छ।
शास्त्रीय परम्पराअनुसार आमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि श्रेष्ठ मानिन्छिन। यही महत्वका कारण आजको दिन सन्तानले बिहानै उठेर नुहाइधुवाइ गरी आमालाई मीठा–मीठा खानेकुरा खान दिने, राम्रा लुगा लगाइदिने र आशीर्वाद लिने चलन छ।
आफ्ना आमालाई गुमाएका सन्तानले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र पुरोहितलाई सिदादानसहित भोजन गराउने प्रचलन छ। आमाले जीवनभर गरेका महान तथा कष्टपूर्ण योगदानलाई सम्झेर श्रद्धासहित सम्मान गरिन्छ।
धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा। डा। देवमणि भट्टराईका अनुसार सनातन धर्ममा जन्मदात्री आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि उच्च स्थान दीएको उल्लेख छ। ँजननी जन्मभूमिश्च स्वर्गादपि गरियसीँ भनाइले आमाको महत्त्व अझ प्रस्ट्याउँछ।
डा। भट्टराईका अनुसार, आमा सन्तानलाई नौ महिना गर्भमा राखी जीवन दिने भएकाले उनको योगदान बाबु वा अन्यभन्दा हजारौँ गुणा बढी मूल्यवान हुन्छ। जीवित आमालाई मिठा परिकार र राम्रो पहिरन दिनु र दिवङ्गत आमाको सम्झनामा तर्पण र श्राद्ध गर्नु शास्त्रीय मान्यताको अंग हो।
यसै अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा विशेष मेला लाग्ने परम्परा पनि छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मातातीर्थ मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष गुरु अस्त र सूर्यग्रहणका कारण आमाको मुख हेर्न नहुने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ।