अक्षय तृतीया आजः सातु र सर्वत दान गरी पुण्य कमाइँदै
News Desk
Apr-30 तारिख 07:05 बिहान

काठमाडौं — सनातन धर्मावलम्बीहरूले वैशाख शुक्ल तृतीयाको दिन मनाउने अक्षय तृतीया पर्व आज श्रद्धापूर्वक सातु र सर्वत दान तथा सेवन गरेर मनाइँदैछ।

शास्त्रीय परम्पराअनुसार बिहानै उठी घर सफा गर्ने, स्नान गरी पूजाका सामग्री तयार पार्ने र सङ्कल्प सहित पूजा आरम्भ गर्ने विधि रहेको छ। घरमा दियो, कलश र गणेशको पूजा गरेपछि तामाको थालीमा अष्टदल बनाइ त्यसमा भगवान विष्णुलाई सोह्र शृंगारसहित पूजा गरिन्छ। पुरोहितको पूजा गरेर तामा वा माटोको भाँडामा शुद्ध जल राखी, दालचिनी, ल्वाङ, अलैंची, मह, चिनी, मिश्री मिसाएर सर्वत तयार पारिन्छ। साथै जौको सातु र उक्त सर्वत दान गर्ने वैदिक चलन रहिआएको छ।

धार्मिक विश्वासअनुसार आजको दिन गरिएको स्नान, जप, ध्यान, दान लगायतका पुण्य कार्यहरू कहिल्यै नाश नहुने मानिन्छ। गर्मीको समयमा सातु र सर्वतलाई अमृत तुल्य मानिने र यसले शरीरलाई ताजगी र शक्ति प्रदान गर्ने धार्मिकशास्त्रविद्हरूको भनाइ छ।

वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा। डा। देवमणि भट्टराईका अनुसार, ँ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ भन्ने उक्तिले शरीर स्वस्थ राखेर धर्म आचरण गर्ने सन्देश दिन्छ। सातु र सर्वत दान तथा सेवनले गर्मीबाट जोगाउने मात्र नभई रोग प्रतिरोधात्मक क्षमता बढाउने पनि गर्छ।ँ

यस तिथिमा गरिने घडाको दानलाई ंधर्मघटादि दानं भनिन्छ। आज बूढाबूढीलाई छाता, लौरो, कपडाका जुत्ता लगायत दान गर्ने, साथै गच्छे अनुसार गाई, जमिन, अन्न, सुनजस्ता सामग्री ब्राह्मण वा विपन्नलाई दान गर्ने परम्परा छ।

शास्त्रीय मान्यताअनुसार सत्य युगमा आजकै दिन भगवान शिव र पार्वतीको विवाह सम्पन्न भएको थियो। त्यसैले विवाह गर्न आजको दिन साइत हेर्नु नपर्ने विश्वास रहिआएको छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनबाट भएको धार्मिक वचन पाइन्छ।

अक्षय तृतीयाको अवसरमा गरिने पुण्य कार्यहरूबाट प्राप्त फल कहिल्यै नाश नहुने भएकाले यो तिथि ‘अक्षय’ अर्थात अविनाशी मानिएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

धेरै पढिएको