News Desk
काठमाडौं |अत्यधिक भीडभाडका कारण सेतो गुम्बा (श्री अमिताभ गुम्बा) अस्थायी रूपमा बन्द गरिएको गुम्बा प्रशासनले जानकारी दिएको छ। सामाजिक सञ्जाल, विशेषगरी टिकटकमार्फत ‘सेतो गुम्बा सर्वसाधारणका लागि खुला’ भन्ने भ्रामक सूचना फैलिएको कारण शनिबार गुम्बामा एक्कासि ठूलो संख्यामा मानिसहरूको भीड लागेको हो।
गुम्बा प्रशासनका अनुसार हाल गुम्बा आधिकारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छैन। ‘आध्यात्मिक रिट्रीट’ कार्यक्रम सञ्चालन भइरहेकाले केवल विशेष परिचयपत्र भएका तथा पूर्व-दर्ता गरिएका भक्तजनहरूलाई मात्र प्रवेशको अनुमति दिइएको छ।
शनिबारको भीडभाड र अत्यधिक गर्मीका कारण केही मानिसहरू बेहोस भएका थिए भने केही बालबालिका आफ्ना अभिभावकबाट छुट्टिएका थिए। अवस्था केही समयका लागि नियन्त्रणबाहिर पुगेको र भगदौडको स्थिति समेत सिर्जना भएको गुम्बा प्रशासनले जनाएको छ।
यस्ता अवस्थाको दोहोरिन नदिनका लागि र सम्पूर्ण व्यवस्था पुनः सन्तुलित तथा सुरक्षित बनाएपछि मात्र गुम्बा सर्वसाधारणका लागि पुनः खोलिने प्रशासनले स्पष्ट पारेको छ।