आज २०८२ जेठ​ १४ ग​तेको राशिफ​ल​
News Desk
May-28 , 2025 तारिख 06:09 बिहान

 आजकाे ग्रहगत प्रभाव अनुसार राशिको स्थिति

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूको विषयमा अत्यधिक चासो राख्दा आफैँ समस्या पर्ने सम्भावना छ। पढाइ तथा व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि अरूले टिप्पणी गर्ने समय भएकाले बोलीचाली र व्यवहारमा होशियार रहनुहोस्। साँझपख अवस्था केही सुध्रिनेछ र दिगो फाइदा हुने जिम्मेवारी हात पर्नेछ। अड्किएका कार्यहरू बन्नेछन् भने व्यापार–उद्योगमा पनि राम्रो लाभ मिल्नेछ। बुद्धिमत्तापूर्वक अगाडि बढ्दा राम्रो नतिजा मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनावश्यक चाहना र हतारले केही समस्या ल्याउन सक्छ। काम सम्पन्न भए पनि सामान्य त्रुटि सुधार्न परिश्रम गर्नुपर्नेछ। पारिवारिक वातावरण केही तनावपूर्ण रहनेछ। खानपानप्रतिको मोहले स्वास्थ्यमा असर पर्न सक्छ। उपहारप्रतिको आकर्षणले कार्यक्षेत्रमा असर पार्न सक्छ। साँझतिर विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ने स्थिति आउन सक्छ। आत्मसम्मान जोगाउन व्यवहारमा विशेष सतर्कता अपनाउनुहोस्। किनमेलतर्फ खर्च हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च गरे पनि अपेक्षित प्रगति नहुन सक्छ। फाइदाका अवसर आए पनि केही त्याग गर्नुपर्ने अवस्था आउनेछ। परिश्रमीहरूका लागि भने दिन सकारात्मक रहनेछ। आजको श्रमबाट भविष्यमा सञ्चय हुने योग छ। साँझतिर पारिवारिक जमघटले खुशी प्रदान गर्नेछ। नयाँ योजना प्रारम्भ गर्ने अनुकूल समय बन्नेछ। प्रिय वस्तु उपहार स्वरूप प्राप्त हुने सम्भावना छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यद्यपि बचत नहोला, तर आय प्राप्ति हुने भएकाले उत्साह बढ्नेछ। परिश्रमबाट आयको नयाँ स्रोत फेला पर्नेछ। आवश्यक भौतिक साधन जुट्न सक्नेछ। व्यापारमा सामान्य लाभ देखिन्छ। आफ्नै सम्पत्ति अरूका लागि खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। साँझपख आर्थिक अभाव महसुस हुन सक्छ। आवश्यकतापूर्ति गर्न ऋण वा सरसापट लिनुपर्ने हुन सक्छ। इच्छाले खर्च बढ्न सक्छ र केही योजना रोकिन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अघिल्ला अधुरो कामहरू पुरा भएर हर्षित बनाउनेछ। मिहिनेतबाट लक्ष्यमा पुग्न सकिनेछ। अवसरहरू प्राप्त हुनेछन् र दीर्घकालीन फाइदाका लागि जग बसाउने मौका मिल्नेछ। कर्मठता र लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। साँझदेखि नयाँ आम्दानीका स्रोतहरू फेला पर्नेछन्। पुराना कार्यहरूबाट पनि राम्रो लाभ प्राप्त हुनेछ। कृषि, पशुपालन र व्यापारमा लाभ प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन केही संघर्षपूर्ण रहनेछ। जिम्मेवारी बढे पनि स्वास्थ्य कमजोर हुने भएकाले काममा बाधा आउन सक्छ। धेरै समय अरूका काममा खर्चिनुपर्ला। आर्थिक रूपमा केही मन्दीको संकेत देखिन्छ। साँझदेखि अवस्था सुध्रिनेछ र दीर्घकालीन योजनाहरू प्रारम्भ हुनेछन्। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मेहनतले लोकप्रियता र पेसागत फाइदा दिलाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानोतिनो समस्याले दिनभरि अल्झाउनेछ र स्वास्थ्यमा पनि केही समस्या देखिन सक्छ। कमजोर अवस्था हुँदाहुँदै पनि अरूका लागि समय खर्चनुपर्नेछ। प्रयत्न गर्दा नियमित कार्यहरूबाट लाभ लिने सम्भावना छ। समस्याहरू प्रकट गर्दा शुभचिन्तकहरूले सहयोग गर्नेछन्। साँझतिर अवसरवादीहरूले आफ्ना कमजोरीहरूको फाइदा उठाउने प्रयास गर्न सक्छन्। तथापि, सामाजिक हितमा राम्रो काम गर्न सकिने समय हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटले दिन रमाइलो बन्नेछ। रमणीय स्थानमा जाने मौका मिल्नेछ। परिस्थिति केही कमजोर भए तापनि अतिथि सत्कार पाइनेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। व्यवसायमा आम्दानी बढ्नेछ। साँझपख केही काममा समस्या आउनसक्छ र उपलब्धिमा सन्तोष मान्नुपर्ने हुन सक्छ। स्वास्थ्य जोगाउन खानपानमा ध्यान दिनु आवश्यक छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मबलले रोग र शत्रुहरूलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धा भए तापनि आवश्यक स्रोतसाधन जुट्नेछन्। बुद्धिको प्रयोगले परिस्थिति आफ्नो पक्षमा पार्न सकिने समय हो। साँझपख व्यापारमा वृद्धिका साथै मनग्य लाभको सम्भावना छ। आम्दानीका नयाँ स्रोतहरू देखा पर्नेछन्। मित्रता र प्रेम गहिरो हुनेछन्। आकर्षक उपहारले उत्साह थप्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको तालमेल नमिल्दा अलमल हुन सक्छ। कमजोर स्वास्थ्यले पढाइमा बाधा पुग्न सक्छ। योजना बीचमै रोकिन सक्छ। तर, गुरुजनको सल्लाह र सन्तानको साथले लाभ मिल्नेछ। साँझपख आवश्यक भौतिक सामग्री जुट्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी निर्णयबाट फाइदा लिन सकिनेछ। विपक्षीहरू समेत सहयोगी बन्न सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिटो निर्णय लिने बानीले समस्या निम्त्याउन सक्छ, सतर्क रहनुहोस्। प्रक्रिया नमिल्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। जग्गा वा पशुधनबाट केही लाभ हुनसक्छ। आफन्तसँग मतभेद बढ्नाले मन खिन्न हुन सक्छ। साँझपख स्वास्थ्य कमजोर हुनसक्छ, खानपानमा सावधानी आवश्यक छ। पढाइमा गुरुजनको मार्गदर्शन लाभदायक बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिनभरि विविध कार्यका अवसरहरू प्राप्त हुनेछन् र व्यवसायमा पनि फाइदा हुनेछ। श्रम गर्नुपरे पनि राम्रो नतिजा आउनेछ। अवसरले उत्साह थप्नेछ। साँझतिर केही पारिवारिक समस्या देखिन सक्छ। आफन्त टाढा जान सक्छन्। साथीभाइसँग सन्तुलन राखी व्यवहार गर्नुपर्छ। जग्गा वा पशुधनबाट थोरै लाभ प्राप्त हुनेछ। अरूको भर पर्नु उचित नहुन सक्छ।

धेरै पढिएको