भोटो देखाउँदै सम्पन्न भयो रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथ यात्रा
News Desk
Jun-01 , 2025 तारिख 06:49 बेलुका

ललितपुर, वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत परम्परागत भोटो जात्रा आज भव्य रूपमा सम्पन्न भएको छ। लगनखेलबाट जावलाखेल ल्याइएको रथको चौथो दिन, परम्पराअनुसार गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरेलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न यो समारोहमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद पनि ग्रहण गर्नुभयो।

रथयात्राको समापनको प्रतीकका रूपमा मानिने भोटो देखाइएपछि यस वर्षको मच्छिन्द्रनाथ जात्रा विधिपूर्वक सम्पन्न भएको छ।

नेपालमा मनाइने जात्राहरूमा सबैभन्दा लामो मानिने यो रथ यात्रा वैशाख शुक्ल प्रतिपदाबाट सुरु भई प्रायः दुई महिनासम्म निरन्तर चल्ने गर्छ। रथ यात्राको आरम्भ पुल्चोकबाट गरिन्छ र त्यसपछि गाःबाहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै अन्ततः जावलाखेलमा रथ पुर्‍याइन्छ।

जावलाखेलमा चार दिनसम्म रथ रोकिएपछि चौथो दिन भोटो देखाउने चलन रहिआएको छ। भोटो देखाएपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखी पुनः बुंगमतीस्थित मूल मन्दिरमा लगिने परम्परा रहेको छ।

पौराणिक किंवदन्ती अनुसार, भक्तपुरका राजा नरेन्द्र देव, तान्त्रिक लक्ष्मीनरसिंह र गोर्खाली योगी बन्धुदत्तले १२ वर्षसम्मको खडेरी हटाउन वर्षाका देवता मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएका थिए। त्यसै समयदेखि यो रथयात्रा सुरु गरिएको मानिन्छ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक विविध आयाम समेटिएको यो जात्राले हरेक वर्ष हजारौं भक्तजनलाई आकर्षित गर्दै आएको छ।

धेरै पढिएको