हरिशयनी एकादशी: तुलसीरोपणसहित चतुर्मासको प्रारम्भ
News Desk
Jul-06 , 2025 तारिख 06:51 बिहान

आषाढ शुक्ल एकादशी, जसलाई हरिशयनी एकादशी पनि भनिन्छ, सनातन धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन हो। यस वर्ष आइतबारको दिन यो पवित्र तिथि परेको छ। यस दिन घरआँगनमा तुलसीको रोपाइँ गर्ने परम्परा अनुसार श्रद्धालुहरूले तुलसी रोप्ने तयारी गरेका छन्।

यसभन्दा एक महिना अगाडि, ज्येष्ठ शुक्ल एकादशीमा तयार पारिएको तुलसीको बिरुवा आजको दिन बगैँचामा सारिन्छ। आयुर्वेदमा तुलसीलाई औषधीय गुणले भरिएको वनस्पति मानिन्छ, जसले अत्यधिक अक्सिजन उत्सर्जन गर्ने भएकाले वातावरणीय दृष्टिले पनि यसको विशेष महत्त्व छ।

धार्मिक परम्पराअनुसार, आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई भगवान् विष्णु र उनकी अर्धाङ्गिनी लक्ष्मीका प्रतीकको रूपमा पूजा गरिन्छ। यसै दिनदेखि सुरु हुने चतुर्मास नामक चार महिनाको धार्मिक अवधि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा समाप्त हुन्छ, जसदिन तुलसीविवाह गरिन्छ।

धर्मशास्त्री प्राडा देवमणि भट्टराईका अनुसार, भगवान् विष्णु यस दिनदेखि क्षीरसागरमा शयन गर्न गएका मानिन्छन्, जसका कारण चतुर्मास अवधिभर विवाह लगायतका मांगलिक कार्यहरू नगर्नु उपयुक्त मानिन्छ।

व्रत, उपवास र विष्णु आराधनालाई विशेष महत्त्व दिइने यस अवधिमा, हरिशयनी र हरिबोधिनी एकादशीलाई वर्षको अन्य २२ एकादशीभन्दा विशेष मानिन्छ। वैष्णव परम्परामा यसको गहिरो धार्मिक मूल्य छ, यद्यपि स्मार्त परम्परामा यसलाई सामान्य रूपमा मनाइन्छ।

पञ्चाङ्गअनुसार, आइतबार एकादशी तिथि बेलुकी ८ बजेर ४० मिनेट (३८ घडी ३३ पला) सम्म रहने उल्लेख छ। त्यसैले यस दिनको व्रत, पूजा वा तुलसीरोपण सोही समयभित्र सम्पन्न गरिनु शुभ मानिन्छ।

धेरै पढिएको