ललितपुरमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधि सम्पन्न, मल्ल राजालाई प्रतीकात्मक निमन्त्रणा
News Desk
Jul-13 , 2025 तारिख 06:05 बिहान

ललितपुर, असार २९ | ललितपुरमा प्रत्येक वर्ष आयोजना गरिने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक प्रक्रिया अन्तर्गत मल्ल राजालाई प्रतीकात्मक रूपमा निमन्त्रणा दिने परम्परा यस वर्ष पनि सम्पन्न भएको छ।

गुरु पूर्णिमाको अवसरमा परम्पराअनुसार पाटन दरबारको तुसाहिटीस्थित योगनरेन्द्र मल्लको शयनकक्षमा फूल, जनै र सुपारी राखेर जात्राको सुरुको विधि सम्पन्न गरिएको हो। यो कार्य ‘स्वां तःवनेगु’ भन्ने परम्परा अन्तर्गत जात्राको आयोजनाको जिम्मेवारी पाउने पालो अनुसार गाःबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले गरेको हो।

यस वर्षको नृसिंह जात्रा साउन २९ गते भाद्र कृष्ण पञ्चमीको दिनमा आयोजना हुने तय भएको छ। जात्राको संयोजन हरेक वर्ष राजोपाध्याय समुदायले उमेर र पालोअनुसार गर्दै आएका छन्।

इतिहासअनुसार, वि.सं. १७४१ मा राजा बनेका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा सम्मान गरिन्छ। दरबारको एक कोठामा उनको लागि झ्याल खुल्लै राखिएको छ र विशेष खातमा शयन गराइएको प्रतीकात्मक विश्वास कायमै छ।

एक रोचक मान्यता अनुसार, योगनरेन्द्र मल्लले मृत्युको बेला भन्नुभएको थियो "मेरो शालिकको टाउकामा बसेको चरा जबसम्म उड्दैन, म जीवित छु।" यही विश्वासमा जात्राको प्रारम्भ पनि उहाँलाई प्रतीकात्मक रूपमा ललितपुरमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधि सम्पन्न, मल्ल राजालाई प्रतीकात्मक निमन्त्रण निमन्त्रणा गरेर गरिन्छ।

गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल अर्पण गरेपछि मात्र अन्य अतिथिहरूलाई औपचारिक रूपमा निमन्त्रणा गरिन्छ। यसै क्रममा गुरुपूर्णिमाको दिन नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई साउन २९ गते हुने जात्राको अवलोकनका लागि निमन्त्रणा प्रदान गरिएको थियो।

नेपाल सम्वत् ७५१ (वि.सं. १६८८) देखि निरन्तर सञ्चालित रहेको यो जात्रा ललितपुरको सांस्कृतिक सम्पदामध्ये एक ऐतिहासिक परम्परा हो, जसले धार्मिक आस्था र परम्परागत सामाजिक संरचनालाई आजसम्म जगेर्ना दिँदै आएको छ।

धेरै पढिएको