News Desk
मध्यपुर थिमी नगरपालिका–४ बालकुमारीका ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठ यस वर्ष पनि ऐतिहासिक जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिन लागेका छन्। भाद्र शुक्ल पूर्णिमाको साँझ, फलामको सियो जिब्रोमा छेडेर महादीप बोकी पशुपतिनाथ पुग्ने यो सांस्कृतिक अनुष्ठान यस वर्ष भदौ २२ गते पर्नेछ।
यो परम्परा केही वर्ष नियमित रूपमा सञ्चालन भए पनि समय–समयमा रोकिँदै आएको थियो। २०६३ सालदेखि रोकिएको जात्रा ११ वर्षपछि २०७४ मा पुनः सुरु भएको थियो, त्यो पनि वीरेन्द्रभक्तकै नेतृत्वमा। त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर यो परम्परा जिउँदो राखेका छन्।
२०७५ सालमा भने बालकराम श्रेष्ठले जिब्रो छेडेर परम्परामा सहभागिता जनाएका थिए। यसअघि कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ सालमा यो धार्मिक अनुष्ठान गरेका थिए।
परम्पराअनुसार दिगु भैरव मन्दिरको डबलीमा पूजा गरी, करिब १ फिट लामो फलामको सियो तेलमा डुबाइन्छ, र त्यसपछि जिब्रो छेडिन्छ। त्यसपछि महादीप बोकेर पशुपतिनाथसम्म यात्रा गरिन्छ र अन्ततः बालकुमारी मन्दिर फर्किएर सियो निकालिन्छ।
नगरको रोग, अनिकाल र प्राकृतिक विपत्तिबाट रक्षा होस् भन्ने कामना सहित मनाइने यो जात्रामा रु पाँच लाखभन्दा बढी खर्च हुने गर्छ। जिब्रो छेड्ने व्यक्तिले अधिकांश खर्च व्यहोर्नुपर्ने अवस्था रहेको र नगरपालिकाको सहयोग सीमित हुने जात्रा संरक्षण समितिका संयोजक अर्जुन श्रेष्ठले बताएका छन्।
वीरेन्द्रभक्त श्रेष्ठको संकल्पले थिमी क्षेत्रको सांस्कृतिक सम्पदा जोगाउने प्रयासमा ठूलो योगदान पुर्याएको छ।