News Desk
काठमाडौं | आज श्रावण शुक्ल पूर्णिमाको पवित्र दिन देशभर वैदिक परम्पराअनुसार रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषि तर्पणी पर्व श्रद्धा, भक्ति र विधिपूर्वक मनाइँदैछ।
स्नान, संकल्प र मन्त्रपाठसहित यज्ञोपवीत (जनै) फेर्ने, रक्षासूत्र बाँध्ने तथा ऋषिलाई तर्पण गर्ने वैदिक रीतिअनुसार आज सनातन धर्मावलम्बीहरूले विशेष पूजाआजा गर्दैछन्। विहानैदेखि नदी, तलाउ, पोखरी तथा तीर्थस्थलमा स्नान गर्ने, र गुरु पुरोहितबाट रक्षा विधान अनुसार मन्त्रिएको रक्षासूत्र (डोरो) दाहिने हातमा बाँध्ने चलन छ।
वैदिक विश्वास अनुसार, यस्तो रक्षासूत्र धारण गर्दा जीवनमा शारीरिक, मानसिक र आत्मिक सुरक्षा प्राप्त हुने मानिन्छ। पौराणिक कथन अनुसार, सत्ययुगमा दानवराज बलीलाई गुरु वृहस्पतिले मन्त्रबद्ध रक्षासूत्र बाँधेर नियन्त्रणमा लिएका थिए, र त्यही घटनाबाट रक्षाबन्धनको परम्परा सुरु भएको मानिन्छ।
रक्षासूत्र बाँध्ने बेला ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल…’ भन्ने मन्त्र उच्चारण गरी गुरु पुरोहितले यजमानको नाडीमा डोरो बाँध्ने परम्परा अझै जीवित छ। धर्मशास्त्रविद् डा. रामचन्द्र गौतमका अनुसार, यो विधि शरीर, मन र आत्मालाई सकारात्मक ऊर्जाले सुरक्षित बनाउने वैदिक प्रणाली हो।
यस दिन तागाधारी ब्राह्मण, क्षत्रिय र वैश्यहरूले आफ्नो पुरानो जनै फेर्ने शास्त्रीय विधान रहेको छ। पूर्णिमाको पूर्वसन्ध्यामा एकछाक खाएर चोखोनितो गरी व्रत बसेका तागाधारीले विहानै गोबर, दत्तिउन, सप्तमृत्तिका आदिबाट स्नान गरी ऋषिहरूलाई तर्पण गर्छन्। कश्यपदेखि अगस्त्यसम्मका आठ ऋषिलाई तर्पण गर्ने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’ पनि भनिन्छ।
जनै (यज्ञोपवीत)लाई वैदिक परम्परामा ब्रह्मसूत्र भनिन्छ, जुन ज्ञान, धर्म र कर्तव्यको प्रतीक मानिन्छ। आज पशुपतिनाथ, कुम्भेश्वर, अशोकविनायक, गोसाइँकुण्ड लगायत देशका प्रमुख तीर्थस्थलहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
यसै दिन स्वास्थ्य लाभका लागि बनाइने क्वाँटी पनि जनै पूर्णिमाको विशेषता हो। एघार थरिका गेडागुडी मिसाई टुस्याएर पकाइने क्वाँटी खाँदा शरीरलाई चिसो हटाएर ताजगी प्रदान गर्ने आयुर्वेदीय मान्यता छ। चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार, क्वाँटीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन सुधार गर्ने र वर्षायामका रोगहरूबाट जोगाउने गर्छ।
उता, नेपालका तराई क्षेत्रमा आजकै दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधी, सुरक्षा, सद्भाव र स्नेहको कामना गर्ने चलन छ। यसबाट पारिवारिक प्रेम, विश्वास र आत्मीयता थप प्रगाढ हुने विश्वास गरिन्छ। पछिल्लो समय यो चलन पहाडी भेगमा पनि लोकप्रिय बन्दै गएको छ।
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज गोसाइँकुण्ड (रसुवा), कुम्भेश्वर (ललितपुर), पाँचपोखरी (सिन्धुपाल्चोक), जनकपुर (धनुषा), त्रिवेणीधाम (नवलपरासी), दानसाधु (जुम्ला) लगायतका तीर्थस्थलहरूमा विशेष मेला लागेको छ। तीर्थयात्री, भक्तजन र व्रतीहरू बिहानैदेखि पूजा, स्नान र तर्पणमा सहभागी भएका छन्।