News Desk
काठमाडौं, श्रावण २५ | गोरखा–ताकुकोट सेवा समाज काठमाडौंद्वारा आयोजना गरिएको वार्षिक गाईजात्रा कार्यक्रम यस वर्ष पनि उल्लासमय वातावरणमा सम्पन्न भयो। परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मनाइने यस गाईजात्रामा समाजका सदस्य, स्थानीय बासिन्दा र दर्शकहरूको उल्लेखनीय सहभागिता रह्यो।
कार्यक्रमको सुरुवात बनस्थलीस्थित अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट भएको थियो। गाईजात्रा शोभायात्रा बनस्थली चोक, खरिबोट, बल्क्षीधुर्बे फुटसल, तुफान चोक, राधाकृष्ण मन्दिर, नर्सरी चोक हुँदै ढुङ्गेधारा चोक पुगेर पुनः बनस्थली चोक हुँदै अक्सफोर्ड ड्राइभिङ सेन्टरमा समापन गरिएको हो। यात्राको क्रममा विभिन्न सांस्कृतिक झाँकी, पारम्परिक वेशभूषा, बाजागाजा र हास्यव्यंग्य प्रस्तुतिहरूले दर्शकहरूको ध्यान आकर्षित गरेका थिए।
यस वर्षको गाईजात्रा विगतका वर्षहरूभन्दा केही फरक शैलीमा आयोजना गरिएको थियो। विशेष गरी गोरखा–ताकुकोटको सांस्कृतिक पहिचान झल्काउने पोशाक, लोकसंगीत, नृत्य र ऐतिहासिक कथावस्तुमा आधारित झाँकीहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममार्फत सामाजिक एकता, आपसी सद्भाव र स्थानीय सांस्कृतिक सम्पदाप्रति गर्वको भावना अभिव्यक्त गरिएको थियो।

गाईजात्रा जुलुसमा सहभागीहरू परम्परागत बाजागाजा (ढोल, झ्याली, मादल) को तालमा रमाउँदै अघि बढेका थिए। स्थानीय बासिन्दा र व्यापारीहरूले शोभायात्रामा सहभागीहरूलाई चियापान तथा स्वागत गरेका थिए। साथै, बालबालिकादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिताले वातावरण झनै रौनकपूर्ण बनेको थियो।
कार्यक्रममा गोरखा–ताकुकोट सेवा समाज काठमाडौंका पदाधिकारीहरूले गाईजात्रा जस्तो सांस्कृतिक पर्वलाई निरन्तरता दिन र नयाँ पुस्तालाई यसको महत्व बुझाउन सबैलाई आह्वान गरेका थिए। उनीहरूले यस प्रकारका पर्वले गाउँ र सहरबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
समापन कार्यक्रममा समाजका वरिष्ठ सदस्यहरूले गाईजात्राको ऐतिहासिक महत्व, गोरखा–ताकुकोट क्षेत्रको सांस्कृतिक परम्परा र वर्तमान पुस्ताको भूमिकाबारे छोटकरीमा मन्तव्य राखेका थिए।
