आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईदै
News Desk
Aug-16 , 2025 तारिख 07:18 बिहान

भाद्र कृष्ण अष्टमी, जसलाई श्रीकृष्ण जन्माष्टमीका रूपमा मनाइन्छ, सनातन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक पर्व हो। यस वर्ष शनिबारको दिन भगवान् कृष्णको पावन जन्मोत्सव विभिन्न धार्मिक कार्यक्रमसहित श्रद्धा र उल्लासका साथ मनाइँदैछ।

पुराण अनुसार द्वापर युगमा, भाद्र कृष्ण पक्षको अष्टमी तिथि, रोहिणी नक्षत्र र मध्यरातको शुभ बेला भगवान् विष्णुले आफ्नो आठौँ अवतारका रूपमा कृष्णको जन्म लिनुभयो। लोकमा अधर्म र अन्यायको बढ्दो प्रभाव अन्त्य गर्न, विशेषगरी कंस लगायतका दानवहरूको विनाशका लागि, विष्णुले कृष्णको रूप धारण गरेको उल्लेख पाइन्छ।

मथुराको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णको बाल्यकालीन लीला, ग्वालबालहरूसँगको रमाइलो, तथा महाभारत युद्धका क्रममा अर्जुनलाई दिएको गीता उपदेश प्रसिद्ध छ। गीतामा कर्मको महत्त्व, गरिसकेको काममा अत्यधिक आसक्ति नबढाउनुपर्ने, र परिणामप्रति चिन्तित नहुनुपर्ने सन्देश दिइएको छ।

कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर, पुतना आदिको वध गरी कृष्णले लोकमा शान्ति र न्यायको स्थापना गरेको कुरा श्रीमद्भागवत र अन्य पुराणहरूमा विस्तृत रूपमा वर्णन गरिएको छ।

जन्माष्टमीमा भगवान् कृष्णको गुणगान, भजन-कीर्तन, आराधना र रातभर जाग्राम बस्ने परम्परा छ। मध्यरातमा कृष्णको जन्म क्षणको प्रतीक्षा गरी, भोलिपल्ट धूमधामसहित उत्सव मनाइन्छ। पौराणिक ग्रन्थहरूले यो दिन विशेष गरी द्वादशाक्षरी मन्त्र "ॐ नमो भगवते वासुदेवाय" जप गरी आराधना गर्न सुझाव दिएका छन्।

नेपाल र भारतका विभिन्न कृष्ण मन्दिरहरूमा यस अवसरमा भक्तजनको ठूलो भीड लाग्छ। विशेष गरी ललितपुर (पाटन) को मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो देखिन्छ।

१७औँ शताब्दीका ललितपुरका राजा सिद्धिनरसिंह मल्लले विक्रम संवत् १६९३ मा राधा-कृष्णको मूर्ति स्थापना गर्दै, दरबारअगाडि २१ गजुरयुक्त शिखर शैलीमा ढुंगामात्र प्रयोग गरी भव्य कृष्ण मन्दिर निर्माण गरेका थिए, जसले आज पनि वास्तुकलाको अद्वितीय नमुना बोकेको छ।

धेरै पढिएको