सनातन धर्मानुयायी महिलाहरू सोमबार दर खाने तयारीमा व्यस्त
News Desk
Aug-25 , 2025 तारिख 06:23 बिहान

हरितालिका तीज नजिकिँदै गर्दा सनातन धर्मानुयायी महिलाहरू सोमबार दर खाने तयारीमा व्यस्त भएका छन्। भाद्र शुक्ल तृतीयाको दिन दिनभरि निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन अर्थात् द्वितीयाको साँझ दर खाने परम्परा रहिआएको छ। यसकारण दरलाई तीजको व्रत सुरु गर्नुअघि गर्ने पूर्वतयारीको रूपमा लिइन्छ।

दरका लागि चेलीलाई माइतीले घर बोलाउने वा आफैं गएर लिन जाने चलन प्राचीन कालदेखि नै छ। विशेषगरी दिदीबहिनीहरू भेला भई गीतगाउने, रमाइलो गर्ने र उपलब्ध मिठा–मसिना खानेकुरा खाएर रातभर उल्लासपूर्ण समय बिताउने परम्परा रहिआएको छ। आ–आफ्नो कर्मघरमै रहने महिलाले भने परिवारका सदस्यसँगै दर खाने गर्छन्।

व्रतको अघिल्लो दिन खानुपर्ने भएकाले दरमा सात्विक भोजनको विशेष महत्व हुन्छ। दूधजन्य पदार्थबाट बनेको खिर, ढकने, चाम्रे, पुवा, सेल, गुँदपाक, फलफूल, मौसमअनुसारका तरकारी तथा अचार खाने परम्परा प्रचलित छ।

मान्यता अनुसार दर खाएपछि व्रत बस्दा शारीरिक रूपमा सबल रहन मद्दत हुन्छ। राति अबेरअघि दर खाइसक्नुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।

तर पछिल्ला वर्षहरूमा परम्परागत दर संस्कारमा फेरबदल हुँदै गएको देखिन्छ। डेढ महिना अघिदेखि पार्टी प्यालेसमा भव्य भोज गर्ने तथा दरका नाममा तामसिक परिकार सेवन गर्ने प्रवृत्ति बढेको भन्दै संस्कृतिविद्हरूले चिन्ता प्रकट गरेका छन्।

 

धेरै पढिएको