तीज पर्व आज : उमामहेश्वरको आराधना गर्दै व्रत बस्दै महिलाहरू
News Desk
Aug-26 , 2025 तारिख 06:52 बिहान

भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व आज मंगलबार देशभरका सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै स्नान गरी दिनभर निराहार बस्ने र साँझ पौराणिक विधिअनुसार शिव–पार्वतीको पूजा गर्ने परम्परा रहिआएको छ।

पौराणिक विश्वासअनुसार सत्ययुगमा हिमालय–मेनकाकी पुत्री पार्वतीले कठोर तपस्या र निराहार व्रत बसेपछि भगवान् महादेवलाई वरको रूपमा प्राप्त गरेकी थिइन्। त्यसैले विधिपूर्वक व्रत गर्दा मनोकामना सिद्ध हुने जनविश्वास छ।

धर्मशास्त्रअनुसार तीजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले बस्न सकिन्छ। धर्मशास्त्री प्रा. डा. रामचन्द्र गौतमका अनुसार सक्नेले निराहार, नसक्नेले जलाहार, र अझ नसक्नेले फलाहार व्रत बस्न उपयुक्त मानिन्छ। भोलिपल्ट सबेरै ‘लोपाामुद्रा’लाई अर्घ्य अर्पण गरेपछि मात्र व्रत पूर्ण भएको मानिन्छ।

विवाहित महिलाले पति र सन्तानको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्ने र अविवाहित महिलाले योग्य जीवनसाथीको कामनामा व्रत बस्ने परम्परा छ। 

तीज पर्वका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, दोलखाको भीमेश्वरलगायत शिवालयमा आज बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।

यस पर्वसँग जोडिएको अर्को चलन भनेको दर खाने हो। तीजको अघिल्लो दिन माइतीले चेलीलाई निम्त्याउने, दिदीबहिनीहरू सम्भव भएसम्म एउटै थलोमा भेला भएर गीत–संगीत, रमाइलो र सामूहिक उल्लाससँगै वर्षभरको दुःखकष्ट पोख्ने परम्परा आज पनि यथावत् छ।

 

धेरै पढिएको