आज ऋषिपञ्चमी पर्व मनाईदै
News Desk
Aug-28 , 2025 तारिख 06:45 बिहान

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज सनातन धर्मावलम्बी महिलाले श्रद्धापूर्वक मनाउँदैछन्। बिहानै नदी, तलाउ वा पवित्र स्थानमा स्नान गरी माटो, गोबर, कुश, तिल र दतिवन प्रयोग गर्ने परम्परा छ। महिलाले ३६५ वटा दतिवनका डाँठले दाँत माझ्ने र ३६५ पटक स्नान गर्ने प्रथा रहेको मान्यता छ।

स्नानपछि सप्तऋषि- कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित वशिष्ठकी पत्नी अरुन्धतीको पूजा गर्ने प्रचलन छ। पूजा सामग्रीमा पनि ३६५ संख्याको विशेष महत्व दिइन्छ। यस व्रतले मासिक धर्मका समयमा हुने दोष नाश हुने विश्वास रहिआएको छ।

धर्मशास्त्रअनुसार ऋषिपञ्चमी महिलाले मात्र नभई पुरुषले पनि गर्नुपर्ने व्रत हो। पतिपत्नी मिलेर सात वर्षसम्म निरन्तर व्रत गरी उद्यापन गर्ने विधान उल्लेख छ।

पूजापश्चात महिलाले कर्कलाको तरकारी तथा नजोतेर वा नखनेर फलेका कन्दमूल खाने परम्परा छ। काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिर, भक्तपुरको दत्तात्रेयलगायत स्थानमा आज भक्तजनको ठूलो भीड लाग्ने गर्छ।

 

धेरै पढिएको