सूर्यविनायक गणेश खट जात्रा सम्पन्न
News Desk
Aug-28 , 2025 तारिख 07:05 बिहान

काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक सूर्यविनायक गणेश मन्दिरमा भव्य खट जात्रा सम्पन्न भएको छ। भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीको अवसरमा मन्दिरको मुख्यद्वार प्राङ्गणमा राखिएको चाँदीको गणेश मूर्तिको विशेष पूजा गरिएपछि मूर्तिलाई खटमा विराजमान गराई टोल परिक्रमा गरिएको थियो। पूजा सामग्रीमा चौरासी व्यञ्जनसहित बोका र राँगोको बलि अर्पण गर्ने परम्परा यस वर्ष पनि निरन्तरता दिइयो।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, प्रतिनिधिसभा सांसद दुलर्भ थापा, नगर प्रमुख वासुदेव थापा, वडा नं ८ का अध्यक्ष पुष्पराज बस्नेत, वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटा लगायत स्थानीय अगुवाले खट काँधमा उठाएर परिक्रमा यात्रा सुरु गरेका थिए। हजारौँ भक्तजन सहभागी यस जात्रामा सिन्दुर खेल्दै रथलाई टोलटोलमा पुर्‍याइएको थियो।

सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ का वासिन्दाको सक्रिय सहभागिता र आर्थिक सहयोगमा सञ्चालन गरिएको यस जात्राले लामो समय रोकिएको परम्परालाई पुनर्जीवित गरेको छ। विगत तीन वर्षदेखि निरन्तरता पाएको यो जात्राले यसपटक स्थानीय समुदायलाई झनै उत्साहित बनाएको थियो।

गणेश मूर्तिलाई रथारोहण गरी पश्चिमतर्फ राजथला टोल, पूर्वतर्फ चालिसे गाउँस्थित गहनादेवी मन्दिर, उत्तरतर्फ सूर्यविनायक चोक हुँदै अरनिको राजमार्गलगायत स्थानमा परिक्रमा गराइयो। साँझ मन्दिरमा आरतीसहित जात्रा सम्पन्न गरिएको हो।

 

धेरै पढिएको