News Desk
यो वर्षको इन्द्रजात्रामा रथ तान्ने लगायत जोखिमपूर्ण भूमिकामा सहभागी हुने व्यक्तिहरूलाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइने भएको छ। गुठी संस्थानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै पहिलो पटक पर्वमा अहोरात्र खटिने व्यक्तिहरूलाई यस्तो व्यवस्था गरिएको बताइएको हो।
राष्ट्रप्रमुख स्वयं उपस्थित हुने, देशका प्रमुख सांस्कृतिक पर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धर समुदायसहित विभिन्न जातजाति गरी झण्डै ८०० जना सहभागी हुनेछन। तीमध्ये करिब १०० जना लगातार खटिने व्यक्तिलाई एकदेखि पाँच लाख रुपैयाँसम्मको बीमा गरिने गुठी संस्थानका कार्यकारी प्रमुख शैलेशराज कुँवरले बताए।
भदौ ९ गते सूर्यविनायक नगरपालिका–चित्तपोलको वनबाट लिङ्गालाको रूख काटेर सुरु भएको यस वर्षको इन्द्रजात्रा २६ गते राति १०ः३० बजे सम्पन्न हुनेछ। भदौ १५ गते काटिएको लिङ्गो हनुमानढोका पुर्याइएपछि अब भदौ १९ गते ध्वजापताकासहित लिङ्गो उठाइएपछि राजधानीमा औपचारिक रूपमा पर्वको सुरुवात हुनेछ।
जात्रा व्यवस्थापनका लागि हनुमानढोका दरबार संरक्षण कार्यालय, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल विद्युत प्राधिकरण लगायतका निकाय सक्रिय रूपमा संलग्न छन। आवश्यक सम्पूर्ण खर्च, जनशक्ति परिचालन र संस्थागत समन्वयको जिम्मेवारी गुठी संस्थानले लिएको छ।