मेलबर्नमा पहिलोपटक इन्द्र जात्रा (येन्या पुन्ही) भव्य रूपमा सम्पन्न
News Desk
Sep-07 , 2025 तारिख 06:51 बिहान

मेलबर्न, भिक्टोरिया। नेवा गुथी, मेलबर्नको आयोजनामा पहिलोपटक इन्द्र जात्रा (येन्या पुन्ही) अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा  सम्पन्न भएको छ। मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायको उत्साहपूर्ण सहभागितासहित सम्पन्न यस ऐतिहासिक महोत्सवले काठमाडौंको मुटुबाट उद्गम भएको सयौं वर्ष पुरानो परम्परालाई पुनर्जीवित गर्दै नेवा समुदायको धनी सांस्कृतिक विरासतलाई प्रदर्शन मात्र गरेन, बहुसांस्कृतिक समाजमा आफ्नो पहिचानलाई पनि गौरवपूर्वक प्रस्तुत गर्‍यो।

महोत्सवको मुख्य आकर्षण देवता गणेश, भैरव र जीवित देवी कुमारीको रथयात्रा थियो। विशेषत: यसपटक महिलाहरूले गर्वका साथ रथ तानेर परम्परा र सशक्तिकरण दुवैको अद्भुत सन्देश प्रस्तुत गरे। साथै, लखे नाच र पुलुकिसी (हात्ती) नाचले कार्यक्रमलाई झन् आकर्षक बनाउँदै सबै उमेरका दर्शकलाई मन्त्रमुग्ध पारे।

कार्यक्रममा पारंपरिक समय बाजी प्रदर्शनमार्फत सहभागी र अतिथिलाई नेवा खानाको वास्तविक स्वाद प्रदान गरियो। साथै, विभिन्न स्टलहरूमा नेपाली परिकार, कला तथा हस्तकला प्रदर्शनी गरिएको थियो, जसले पुस्ताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सांस्कृतिक आदान–प्रदानको वातावरण सिर्जना गर्‍यो।

उक्त अवसरमा नेपालका कन्सुल निराजन गौलिको विशेष उपस्थिति थियो। त्यस्तै, भिक्टोरियाका बहुसांस्कृतिक मामिला मन्त्री सुश्री इन्ग्रिड स्टिट प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै नेपाली समुदायले आफ्नो सांस्कृतिक पहिचान सुरक्षित राख्दै बहुसांस्कृतिक भिक्टोरियाली समाजमा पु¥याएको योगदानप्रति प्रशंसा व्यक्त गरिन्।

 

धेरै पढिएको