विभिन्न देशका लागि विजया दशमी टीकाको साइत सार्वजनिक
News Desk
Sep-21 , 2025 तारिख 07:01 बिहान

काठमाडौं, असोज ४ – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजया दशमी २०८२ का लागि विभिन्न मुलुकमा बसोवास गर्ने नेपाली तथा सनातन धर्मावलम्बीहरूलाई टीकाको साइत सार्वजनिक गरेको छ। समितिले शनिबार बसेको बैठकको निर्णयअनुसार स्थानीय तिथि र मान्यताअनुसार पर्व मनाउनुपर्ने शास्त्रीय परम्परा अनुरूप विभिन्न देशका लागि छुट्टाछुट्टै साइत तोकेको हो।

समितिका सभापति प्रा. डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिअनुसार नेपालमा विजया दशमीको टीकाको साइत १६ आश्विन २०८२ गते बिहान ११:५३ बजे हुने छ।

भारतको नयाँदिल्लीमा २ अक्टोबर बिहान ११:४९ बजे, अमेरिकाको न्यूयोर्कमा १ अक्टोबर बिहान ११:२५ बजे, लण्डनमा २ अक्टोबर बिहान ९:१७ बजे, पेरिसमा ९:५७ बजे, पोर्चुगलमा ९:२३ बजे, टोकियोमा ११:४३ बजे, सिड्नीमा ११:३१ बजे, मेलबर्नमा ११:१९ बजे, क्यानाडाको टोरन्टोमा १ अक्टोबर बिहान ११:५५ बजे र भ्यानकुभरमा ११:३३ बजे शुभ साइत तय गरिएको छ।

त्यस्तै, मलेसिया (क्वालालम्पुर) मा २ अक्टोबर बिहान १०:५५ बजे, दक्षिण कोरिया (सियोल) मा १०:५७ बजे, सिङ्गापुरमा ११:०९ बजे, साउदी अरेबियामा १०:५५ बजे, स्वीट्जरल्याण्ड (जेनेभा) मा ११:२५ बजे, अष्ट्रेलियाका विभिन्न सहरहरू (ब्रिसवेन, एडिलेड, क्यानवेरा, तास्मानिया, पर्थ आदि) मा बिहान ११:३५ देखि ११:५३ बजेसम्मको समय शुभ साइत तोकिएको छ।

समितिले टीकाको साइतलाई सबैभन्दा उपयुक्त समयको रूपमा निर्धारण गरिएको जनाउँदै सो दिन आफ्नो अनुकूल समयमा पनि टीका लगाउन सकिने स्पष्ट गरेको छ।

यसै अवसरमा समितिले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विजया दशमी २०८२ का हार्दिक शुभकामना समेत दिएको छ।

धेरै पढिएको