नवकुमारी आर्यतारा शाक्य मङ्गलबार कुमारीघरमा आसन ग्रहण गर्ने
News Desk
Sep-30 , 2025 तारिख 05:56 बिहान

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई नवकुमारीको रूपमा मङ्गलबार मध्याह्न शुभसाइतमा विधिपूर्वक कुमारीघरमा आसन ग्रहण गराइने भएको छ। यसका लागि आवश्यक तयारी पूरा गरिएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

उनका अनुसार विशेष बाजागाजासहित विधि सम्पन्न गरी कुमारीलाई आसनमा विराजमान गराइएपछि तलेजु भवानीको दर्शनका लागि परम्पराअनुसार मन्दिरमा यात्रा गराइनेछ।

जीवित देवीका रूपमा पूजनीय कुमारीलाई महालक्ष्मीको प्रतीक मानिने परम्परा रहेको छ। कुमारी संस्थाको सुरुआत तत्कालीन राजा जयप्रकाश मल्लले गरेका थिए भन्ने मान्यता छ।

गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षहरूको सल्लाह र परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो।

कुमारी छनोट प्रक्रियामा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको व्यवस्थापन समितिका संयोजक शाक्यले बताए। परम्पराअनुसार कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने प्रचलन आजसम्म कायम छ।

धेरै पढिएको