महाअष्टमीको दिन महागौरी देवीको विशेष पूजा
News Desk
Sep-30 , 2025 तारिख 06:54 बिहान

बडादशैं तथा नवरात्रको आठौँ दिन आज दशैंघर र पूजा कोठाहरूमा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा–आराधना भइरहेको छ। यस दिन देशभरका शक्तिपीठहरू, दशैंघर र कोतमा बलिसहित दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहँदै आएको छ। भक्तजनहरूले आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई श्रद्धापूर्वक पूजा गर्दै बलि अर्पण गर्छन्। सात्विक अनुयायीहरूले भने नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फलफूल अर्पण गर्ने चलन छ।

काठमाडौं दरबार क्षेत्रको दशैंघर र हनुमानढोकाको मूलचोकमा आज तलेजु भवानीलाई ५४ राँगा र त्यत्तिकै संख्यामा बोका बलि दिने परम्परा छ। महाअष्टमी र महानवमीको बीचको रातलाई ‘कालरात्रि’ मान्दै यस रात गुप्त पूजा गर्ने चलन रहँदै आएको छ।

यस अवसरमा पञ्चबलि दिने परम्परा विशेष महत्वका साथ मनाइन्छ। पञ्चबलिमा बोका, राँगा, परेवा, हाँस र भेंडा पर्दछन्। धार्मिक ग्रन्थअनुसार यी पाँच जनावरहरू अंहकार, लोभ, मोह, मद र विकृत प्रवृत्तिको प्रतीक मानिन्छन् र यस्ता नकारात्मक भावनाहरूलाई त्याग्ने सन्देशका रूपमा बलि दिने परम्परा प्रचलित छ। कतिपय विद्वान्हरूले यसलाई प्रतीकात्मक विधि मान्दै पशुत्व प्रवृत्तिलाई नियन्त्रण गर्ने उपायका रूपमा व्याख्या गरेका छन्।

महागौरी देवीलाई सेतो वृषभमाथि आरूढ, श्वेतवस्त्रधारी र गोरो वर्णकी रूपमा शास्त्रहरूले वर्णन गरेका छन्। नवरात्रको पहिलो दिन, असोज ६ गते, वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यही दिन शैलपुत्री देवीको पूजा आरम्भ गरिएको थियो।

नवरात्रभर देवी दुर्गाको आराधना गर्ने परम्परा वैदिक सनातन धर्मावलम्बीहरूमा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार यस अवधिमा विधिपूर्वक पूजा गर्ने भक्तजनलाई शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ। नौ दिनसम्म पूजाआराधना गरी प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने प्रचलन छ।      

धेरै पढिएको