आज म​हान​व​मी,देवी दुर्गाको नवौँ स्वरूप सिद्धिदात्रीको पूजा अर्च​ना ग​रिदै
News Desk
Oct-01 , 2025 तारिख 06:26 बिहान

आज आश्विन शुक्ल नवमीका दिन देशभर महानवमी पर्व श्रद्धा र भक्ति साथ मनाइँदैछ। यस दिन देवी दुर्गाको नवौँ स्वरूप सिद्धिदात्रीको विशेष पूजा–आराधना गरिन्छ। जनविश्वास अनुसार, सिद्धिदात्रीको उपासनाले भक्तजनलाई दिव्य सिद्धि र मनोकामना प्राप्त हुन्छ।

सिद्धिदात्रीलाई चार भुजायुक्त देवीका रूपमा चित्रित गरिन्छ। उहाँले चक्र, गदा, शंख र कमल पुष्प धारण गर्नुभएको छ र कमलको आसनमा विराजमान हुनुहुन्छ। भक्तजनहरू विश्वास गर्छन् कि यिनीको आराधनाले जीवनका मनोरथ पूरा हुन्छन्।

महानवमीका दिन अघिल्लो रात सम्पन्न गरिने कालरात्रि पूजाको पूर्णताका लागि हवन गर्ने प्रथा छ। यस अवसरमा खिर, तिल र घिउ मिसाइएका चरु देवीलाई अर्पण गरिन्छ। शक्तिपीठ र दशैँघरमा यो दिन पशुबलि दिने परम्परा रहँदै आएको छ, भने शाकाहारी भक्तहरूले कुभिण्डो, नरिवल र घिरौँला अर्पण गर्छन्।

महानवमीमा देवीको आराधनासँगै वाहन पूजा गर्ने परम्परा पनि छ। मानिसहरूले आफ्ना सवारी साधनलाई पूजा गरी सुरक्षाको कामना गर्छन्। यसै दिन शक्तिपीठहरूको दर्शन गर्ने भीड हुन्छ र तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ।

नवरात्रका नौ दिनसम्म देवी दुर्गाका नौ स्वरूपसँगै महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई समृद्धि र महासरस्वतीलाई ज्ञानकी देवीका रूपमा पूजिन्छ।

नवरात्रको धार्मिक अनुष्ठान महानवमीका दिन सम्पन्न हुन्छ। नवदुर्गाको प्रसाद भने विजयादशमी अर्थात् दशमीका दिन बिहान मान्यजनको हातबाट फूल, अक्षता र जमरा ग्रहण गरेर लिने परम्परा रहिआएको छ।

धेरै पढिएको