News Desk
भक्तपुरमा यो वर्ष तिहारअन्तर्गतका पर्व एक दिन अगाडि नै मनाइने भएको छ। भक्तपुरका नेवार समुदायले कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामातिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा. वीरेन्द्रप्रसाद कायस्थ र दैवज्ञ केदारप्रसाद जोशीसहितको उपस्थितिमा छलफल गरी यस्तो निणय गरेको हो।
तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार, दिउँसो ३ बजेपछि औँसी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कात्तिक ४ गते मङ्गलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हा पूजा गर्ने र ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकाले किजा पूजा अर्थात् भाइटीका गर्ने निर्णय गरेको हो।
पञ्चाङ्ग निर्णायक समितिले भने कात्तिक ४ गते खाली, ५ गते म्हः पूजा र ६ गते बिहीबार किजा पूजा अर्थात् भाइटीका गर्नेगरी साइत सार्वजनिक गरेको छ। भक्तपुर नगरपालिकाले केही वर्षयता पञ्चायन निर्णयक समितिले सार्वजनिक गरेको तिथिमितिअनुसार तिहार नमानेर भक्तपुरको तलेजुका पुजारी र ज्योतिषहरूले गरेको निर्णयानुसार तिहारका पर्व मनाउने निर्णय गरी सोहीअनुसार गर्न आह्वान गर्दै आएको छ।
सोही अनुरूप यसवर्ष पनि बसेको बैठकबाट भक्तपुर नगरपालिकाले पञ्चायन निर्णायक समितिको निर्णयभन्दा फरक तिथिमिति सार्वजनिक गर्दै सोहीअनुसार तिहार मनाउन आह्वान गरेको छ।