News Desk
‘ऐबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने सन्देशका साथ मधेशका युवा- युवतीहरूले जनकपुरधाममा आफ्ना रैथाने पहिरन प्रदर्शन गरेका छन्। छठ पर्वको तयारीसँगै मौलिक संस्कृति र सभ्यतालाई जोगाउने उद्देश्यले उनीहरूले सबैलाई पारम्परिक वस्त्रमा छठघाट पुग्न आग्रह गरेका छन्।
जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर परिसरमा आयोजित उक्त प्रदर्शनमा युवाहरूले धोती, कुर्ता, पाइजामा, गम्छा र साडी पहिरनमा सजिएर मिथिला संस्कृतिको गौरव प्रदर्शन गरे। ‘ऐबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नारामार्फत उनीहरूले सांस्कृतिक आत्मसम्मान र पहिचानको सन्देश फैलाएका हुन्।
अभियानका संयोजक मोहन महतो ‘कोइरी’का अनुसार मधेशका परम्परागत पोशाक — धोती, कुर्ता, गम्छा, र पाइजामा —लाई कतिपयले तिरस्कार गर्ने प्रवृत्तिले युवाहरूमा हिनताबोध जगाएको थियो। त्यसैको प्रत्युत्तरस्वरूप यो प्रदर्शनले मधेशी पहिचानलाई पुनर्जीवन दिने प्रयास गरेको उनले बताए।
मैथिली गायक संजय कुशवाहाले यो पहललाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै भने, “धोती–कुर्ता र साडी हाम्रो गर्व हो, यसको संरक्षणले नै संस्कृति जीवित रहन्छ।”
यही अभियानकी अभियन्ता र गौशाला नगरपालिका–रजखोरकी विनिता कुमारी महतोका अनुसार, उनीहरूले पछिल्ला छ वर्षदेखि यो सन्देश फैलाइरहेका छन्। उनले भनिन्, “हामी युवाहरूले नै मिथिलाको पहिरन र संस्कृति जोगाउनुपर्छ। छठ पर्वमा सबैले धोती–कुर्ता र सुल्टो साडी लगाएर घाट पुगौं।”
उनले आधुनिक प्रभावले साडी लगाउने तरिकामा आएको परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “नारीको शोभा साडी हो, र साडीको शोभा सिधा पल्ला हो। त्यसैले आफ्नी संस्कृति र सौन्दर्यलाई सम्मान दिँदै सुल्टो साडी लगाऔं।”
यस सांस्कृतिक अभियानले मधेश र मिथिलाञ्चलको परम्परागत पोशाकप्रतिको अभिमान पुनर्जीवित गर्दै, छठ पर्वलाई सांस्कृतिक चेतना र पहिचानको उत्सवका रूपमा प्रस्तुत गरेको छ।